
भारतीय कांग्रेस पार्टीका अध्यक्षका लागि आगामी महिना चुनाव हुँदैछ तर चुनावलाई लिएर पार्टीकै अग्रज नेताहरूले आशंका व्यक्त गरेका छन् ।
कांग्रेसका ५ सांसदले केन्द्रीय चुनाव प्राधिकरणका अध्यक्ष मधुसूदन मिस्त्रीलाई पत्र लेखेर पारदर्शिता र निष्पक्षताको प्रश्न उठाएका छन् । नेताहरू मनीष तिवारी, शशि थरुर, कार्ति चिदम्बरम, प्रद्युत बोरदोलाई र अब्दुल खलीकले शंका गरेका छन् ।
मतदाताको नाम र संख्या यकिन नभई हुने चुनाव निष्पक्ष नहुने नेताहरूको आशंका छ । चुनावअघि मतदाता नामावली प्रकाशित हुनुपर्ने माग गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नेताहरूले सबै मतदाताको नामावली उम्मेदवार र मतदातालाई उपलब्ध गराउनुपर्ने माग गरेका छन् । मतदाता नामावली प्रकाशित गर्नुपर्ने मागलाई नेतृत्वले गलत तरिकाले प्रस्तुत गरेकोमा आक्रोश व्यक्त गरिएको छ ।