
नेपालगञ्ज उपमहानगरपालिकाले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ ।
त्यसका लागि शुक्रवार भएको सरोकारवालाबीचको बैठकमा नगर उपप्रमुख कमरुद्धिन राईले डेंगु रोग नियन्त्रण र रोकथामका लागि नगर क्षेत्रमा लामखुट्टेको बास स्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधिमा जोड दिइएको बताए ।
उनले डेंगु विरुद्धको अभियानमा सम्पूर्ण नगरवासी र सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
भेरी अस्पताल नेपालगञ्जका डा. राजन पाण्डेले डेंगु अहिले विश्वमै स्वास्थ्य समस्याका रूपमा देखिएको भन्दै सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधि सेवन नगर्न सुझाव दिए । भेरी अस्पतालमा डेंगुभन्दा स्क्रब टाइफस लगायतका बिरामी बढी भएको उनको भनाइ छ ।
भेरी अस्पतालका डा. बद्री चापागाईले अस्पतालमा बिरामीको चाप अधिकत रहेको र शय्या अभाव रहेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, तेज वली लगायतले लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट जोगिने भरपर्दो उपाय भएको बताउँदै रोग लाग्न नदिन सरसफाइमा विशेष दिनुपर्नेमा जोड दिएका छन् ।