
सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति चितवनको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ ।
अस्पतालमा २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।
सरकारले नेपालमा २०७२ सालमा कार्यक्रम शुरू गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै कार्यक्रम सेवाग्राहीमाझ लोकप्रिय बन्दै गएको छ ।
अस्पतालमा आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गरेका छन् । त्यसो त अस्पतालले कार्यक्रम लागू गरेको ५ वर्ष पुग्दै गर्दा ९३ करोड ५८ लाख ९५ हजार रुपैयाँ बीमा दाबी भुक्तानी लिएको छ ।
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार पछिल्ला वर्षहरूमा बीमा दाबी रकम बढेको छ । यस आर्थिक वर्षको साउनयता मात्रै अस्पतालले १३ करोड ३२ लाख ४३ हजार रुपैयाँ दाबी भुक्तानी पाएको छ ।
गत आर्थिक वर्षमा अस्पतालले ३० करोड ७९ लाख ७४ हजार रुपैयाँ दाबी भुक्तानी लिएको थियो । बीमामा बिरामीको आकर्षण बढेकै कारण संख्या थपिएर दाबी भुक्तानी रकम बढेको हो ।
पौडेलले भने, ‘दाबी गरिएका अधिकांश फाइल सदर भएर धेरै रकम पाउने भरतपुर अस्पताल पहिलो हो ।’ स्वास्थ्य बीमा बोर्डबाट हालसम्म ४५० अस्पतालमा भुक्तान भएकोमध्ये सबैभन्दा बढी रकम भरतपुर अस्पतालमा आएको छ । बिरामीको उपचारपछि रकम दाबी गर्ने गरिन्छ । अस्पतालको बीमा शाखामा दक्ष कर्मचारी राखेर निरन्तर दाबी भुक्तानीका लागि काम गरिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम सेवाग्राहीको माझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्य बीमा बोर्डले बीमाको नीति पृथक बनाएर नियमन गर्नुपर्ने पौडेलको सुझाव छ । उनले सेवाप्रदायक संस्थाले पनि आफ्नो संस्थाको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई उपकरण र जनशक्ति थप गर्दै लैजानुपर्ने बताए ।
स्वास्थ्य बीमाको पहिलो विन्दु भरतपुर अस्पताल बनाउने चितवनसहित नवलपुर, धादिङ, गोरखा, तनहुँ, मकवानपुरका समेत रहेका छन् । रिफर भएर आउने बिरामी यी सहित २२ जिल्लाभन्दा बढीका हुने गरेका छन् । अधिकांश बिरामी स्वास्थ्य बीमामार्फत सेवा लिन उच्च महत्त्वकांक्षाका साथ आउने गरेको पौडेलको भनाइ छ । उनले भने, ‘सरकारी भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या बढी रहेको र सेवाप्रति आकर्षण बढी हुने गरेकाले दैनिक निकै बिरामी आउने गर्दछन् ।’
बिरामीको उच्च चाप र न्यून जनशक्तिका कारण बीमाका सबै बिरामीले सोचेजस्तो सेवा लिन भने सकेका छैनन् । अस्पतालमा दैनिक २ हजारसम्म बहिरंग सेवामा बिरामी आउने गर्दछन् ।