२३ असार २०८३, मंगलबार

डेंगु संक्रमणः कोभिडका लागि छु्याइएको अस्पतालको बेड डेंगु संक्रमितले भरियो

डेंगु संक्रमणः कोभिडका लागि छु्याइएको अस्पतालको बेड डेंगु संक्रमितले भरियो

बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । भारतसँग सीमा जोडिएको नेपालगञ्जमा पछिल्लो समय डेंगुका रोगी भेटिने क्रम बढ्दै गएको पाइएको छ । बाँकेमा अहिलेसम्म ११ जनामा सो रोगको संक्रमण देखिएको छ । तीमध्ये पाँच जना नेपालगञ्ज उपमहानगरपालिका, चार जना कोहलपुर र एक जना बैंजनाथ गाउँपालिकाका रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले पछिल्लो १८ वर्षदेखि नेपालमा डेंगु रोगको जोखिममा रहेको बताए । यसको नियन्त्रण र रोकथाम भनेकै व्यवस्थित शहरीकरण र लामखुट्टे नष्ट गर्ने कार्य भएको उल्लेख गर्दै उनले डेंगु रोगको आशंकामा अनावश्यक घरेलु उपचारमा नलाग्न सर्वसाधारणलाई आग्रह गरे । 

भेरी अस्पताल नेपालगञ्जले बिरामीको चाप बढेपछि कोभिडका लागि छुट्याएको वार्डमा डेंगुलगायतका बिरामी राखेको छ । कोभिडको भन्दा डेंगुलगायतका बिरामी बढेपछि उक्त वार्डमा बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँले जानकारी दिए । 

उनका अनुसार भेरी अस्पतालमा बिरामी बढेर राख्ने ठाउँ छैन । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन् । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा पाण्डेका अनुसार डेंगुका ९० प्रतिशत बिरामीमा लक्षण देखिँदैन । लक्षण देखिए पनि ९९ प्रतिशत गम्भीर हुँदैनन् । एक प्रतिशत बिरामी गम्भीर हुन्छन् । त्यही एक प्रतिशतमध्येको ५० प्रतिशत उपचार नपाउँदा मृत्यु हुन्छ ।

अस्पतालमा डेंगुलगायतका बिरामी बढेपछि सिफारिस गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जन बढी फर्किरहेका छन् । पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा डेंगु रोगबाट दुई जनाको मृत्यु भइसकेको छ ।

डेंगु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियानलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग स्रोत व्यक्ति दुर्गा गौतमले बताए । डेंगुका बिरामी बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रण अभियान तीव्र पारेको उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले बताए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्