
राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।
बंगलादेशको जितमा कप्तान सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाइन् ।
त्यस्तै खेलको २८औँ मिनेटमा शोप्नाले गोल गर्दा बंगलादेश २–० ले अघि रह्यो । त्यसपछि खेलको ३१औँ मिनेटमा सविनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाइन् । यसैगरी खेलको ३५औँ मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ४–० ले अघि रह्यो । खेलको ५९औँ मिनेटमा सविनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
त्यसपछि खेलको ७७औँ मिनेटमा रितुले गोल गर्दै बंगलादेशलाई ६–० को जित दिलाइन् । बंगलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले हराएको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो ।
यस जितसँगै समूह ‘ए’ मा रहेको बंगलादेशले ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान दुई खेलमा अंकविहीन रहँदै पुछारमा रहेको छ । प्रतियोगिताअन्तर्गत नै शनिवार हुने दोस्रो खेलमा समूह बी मा नै रहेको भारतले माल्दिभ्ससँग खेल्दैछ । रासस