२२ जेठ २०८३, शुक्रबार

गठबन्धनका अन्य दलले स–गौरब कांग्रेसको लात खानुपर्छः विष्णु पौडेल

गठबन्धनका अन्य दलले स–गौरब कांग्रेसको लात खानुपर्छः विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनका दलहरू सिट भागबण्डामा पशुपतिका बाँदरजस्तै भएको टिप्पणी गरेका छन् । बुटवलमा शनिवार पार्टीनिकट प्राध्यापकहरूसँगको अन्तरक्रियामा नेता पौडेलले गठबन्धनका दलहरूमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको बताए । 

‘गठबन्धनका दलहरू सिट भागबण्डामा पशुपतिका बाँदरजस्तै देखिएका छन्’, पौडेलले भने, ‘पशुपतिमा कसैले खानेकुरा दियो भने जसरी बाँदरहरू एउटाले अर्कोलाई झुक्याएर खोसेर लिन्छन्, गठबन्धनमा पनि अहिले त्यस्तै छ ।’

आफूले बढी सिट हात पार्न माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेससँग घुर्की लाउने र बार्गेनिङ गर्ने गरेको पौडेलले टिप्पणी गरे । ‘कांग्रेसको पछि लाग्ने अनि उसैलाई हामीलाई नहेप भनेर घुर्की लाउने गरेका छन्’, पौडेलले भने, ‘कांग्रेसको पछि लागेपछि उसले उब्रेको दिने त हो, लात पनि हान्छ, उनीहरूले सगौरब लात खानुपर्छ ।’

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न नसकेर गठबन्धन गर्नुपरेको स्वीकार गरिसकेको उल्लेख गर्दै नेता पौडेलले यसबाट एमाले नै देशको सबैभन्दा बलियो शक्ति भएको पुष्टि भएको बताए ।  

वैवाहिक अंगीकृत नागरिकताको हकमा सात वर्षको अवधि राख्नुपर्छ भन्ने एमालेको मागलाई अस्वीकृत गरेर गठबन्धन सरकार राष्ट्रियताप्रति गैरजिम्मेवार बनेको पौडेलले बताए । समय सीमा नराख्ने सरकारको प्रावधानले कालान्तरमा नेपालीहरू आफ्नै देशमा अल्पमतमा पर्ने खतरा रहेको उनले औँल्याए । 

‘नेपाल अर्बौं जनसंख्या भएका दुई छिमेकी देशको बीचमा छ, राष्ट्रियताप्रति गठबन्धन सरकारको असंवेदनशीलताले भविष्यमा नेपालमा नेपालीहरू नै अल्पमतमा पर्ने अवस्था नआउला भन्न सकिन्न’, पौडेलले भने, ‘समय सीमा नराख्ने हो भने एकजनाले सम्बन्धबिच्छेद गर्दै ७ जना विदेशीसँग बिहे गर्नसक्छन्, यहाँ विवाह गराउने कम्पनी नै खुल्न सक्छन् ।’ 

अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) पनि एमालेको विरोधले रोकिएको दाबी गर्दै पौडेलले गठबन्धनका दलहरू विदेशीसामु आत्मसमर्पण गरेर सत्ता जोगाउन तल्लीन रहेको आरोप लगाए । उनले आगामी निर्वाचनमा एमालेले बहुमत नपाए राष्ट्रियता झनै संकटमा पर्ने र देश दुर्घटनामा पर्ने भन्दै एमालेको नीति र विगतमा गरेका राम्रा कामको प्रचार गरी जनमत सिर्जना गर्न प्राध्यापकहरूलाई निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्