
तीन बालकलाई अपहरणको शैलीमा भारतको मुम्बई पुर्याइपछि स्कूल जाँदा–आउँदा बालबालिकाको विशेष ख्याल गर्न रूपन्देहीका विद्यालयहरूले आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्कूल र अभिभावक महासंघले सूचना प्रकाशित गरेर भारतबाट बच्चा चोरेर लैजाने गिरोह आएको भन्दै विद्यालय समयभन्दा छिटो गरी बालबालिकालाई स्कूल नपठाउनसमेत आग्रह गरेका छन् । जसले गर्दा यहाँका अभिभावकहरू त्रसित छन् ।
केही दिनयता तराईका विभिन्न जिल्लामा विद्यार्थी अपहरण गरेर लैजान भारत लान थालिएको हल्ला विषय सामाजिक सञ्जालमा फैलिरहेको छ । सामाजिक सञ्जालमा हल्ला भइरहेका बेला बुटवलमा भएको पछिल्लो घटनाले अभिभावक तथा बालबालिकालाई अझ झस्काएको छ ।
बुटवल उपमहानगरपालिका–११ दुर्गानगरका १५ वर्षका सागर पौडेल तथा समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी हिँडेका थिए । उनी विद्यालय नगई एकाएक भारतको मुम्बईमा पुगेको सूचना आएपछि यस क्षेत्रमा बालबालिका अपहरणको त्रास बढेको हो । उनीहरू नवीन औद्योगिक मावि र नहर माविमा कक्षा ८ र ९ मा पढ्ने विद्यार्थी हुन् ।
बुटवलको इलिट इङलिस बोर्डिङ स्कूलले सूचना प्रकाशित गरी बालबालिकाको विशेष ध्यान दिन आग्रह गरेको छ । त्यस्तै बुटवलकै इडन बोर्डिङ स्कूलका प्राचार्य शिवहरि भट्टराईले सूचना प्रकाशित गरी अपरिचित व्यक्तिसँग सामिप्यता बढाउन नदिन आग्रह गर्दै सूचना प्रकाशित गरेका छन् ।
नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेश समितिले पनि विज्ञप्ति जारी गर्दै सार्वजनिक भइरहेका घटनाले बालबालिकालाई मनोवैज्ञानिक रूपमा असर गरेको बताएको छ । महासंघका अध्यक्ष हेमबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘विद्यालय जाने कलिला उमेर समूहका बालबालिकाहरु बेपत्ता भइरहेको खबरले आम अभिभावक, विद्यार्थीहरू त्रासपूर्ण वातावरणमा विद्यालय जाने, आउने, घर वरिपरि हिँड्ने, डुल्ने, घुम्ने खेल्ने काम गर्न बाध्य छन् ।’
महासंघका भनाइमा अध्ययन गर्ने, नयाँ कुरा सिक्ने सिर्जनशील सोँच बोकेका बालबालिकाहरूको कलिलो मस्तिष्कमा यस्ता घटना सार्वजनिक हुँदा गम्भीर असर परेको छ । ‘जसका कारण आम विद्यार्थीहरूको भविष्य र अभिभावकको सोँचमाथि नकारात्मक प्रभाव पर्न थालेको छ’, विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले भने जिल्लामा हालसम्म बच्चा अपहरणसम्बन्धी एउटा पनि उजुरी नपरेको बताए । ‘कोही नयाँ मानिस देख्यो भन्ने बच्चा चोरी गर्न आयो भन्ने हल्ला फैलाइएको छ’, प्रवक्ता अर्यालले भने, ‘आफ्ना बच्चा ख्याल गर्नु राम्रो हो तर, अनावश्यक हाउगुजी बढी बनाइएको छ ।’
हेर्नुहाेस् विज्ञप्तिहरू


