
युक्रेनले खार्किभमा चलाएको प्रत्याक्रमण कारवाहीमा चार हजार युक्रेनी सैनिक मारिएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।
सेप्टेम्बर ६ देखि १० सम्म त्यति ठूलो संख्यामा युक्रेनी सैनिकहरू मारिएको र ८ हजार जति घाइते भएको आइतवार रुसी रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल इगोर कोनाशेनकोभले बताए ।
खार्किभमा रुसी बलहरूले क्षेप्यास्त्र तथा आर्टिलरीमार्फत सटीक प्रहशार गरेर युक्रेनी सैनिकहरूलाई तारो बनाएको उनको भनाइ छ । त्यस क्षेत्रबाट अहिले रुसी सैनिकहरू हटेर डोनबास क्षेत्रमा तैनाथ गरिएका छन् ।
रुसी सेनाले युक्रेनका कैयौं कमान्ड पोस्ट पनि ध्वस्त पारेको बताइएको छ ।
सेप्टेम्बर १ देखि जापोरोझझिया आणविक भट्टीमा युक्रेनी सैनिकहरूले गोली प्रहार गरिरहेको आरोप पनि रुसको रक्षा मन्त्रालयले लगाएको छ । मार्च महिनामा उक्त भट्टी रुसी सेनाले नियन्त्रणमा लिएको थियो ।