०५ साउन २०८३, मंगलबार

दूध बेचेरै सुध्रियो आर्थिक हैसियत, छोराछोरी महंगा स्कूलमा पढ्छन्, जीवनशैली पनि उच्च

दूध बेचेरै सुध्रियो आर्थिक हैसियत, छोराछोरी महंगा स्कूलमा पढ्छन्, जीवनशैली पनि उच्च

खेतीपातीबाट बढी उब्जाउका लागि प्राङ्गारिक मलको जोहो गर्न गाईभैंसी पाल्थे किसान । सामाजिकीकरण, आधुनिकीकरण र तीव्रतम् आर्थिक गतिविधिले चालिसको दशकअघिको यो जमाना बदलिएको छ ।

वस्तुभाउ पालनलाई व्यावसायिक र आर्थिक गतिविधिसँग जोडेर किसानले दुग्ध उत्पादनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् ।

दुग्ध व्यवसायमा बढ्दो किसानको आकर्षणले चार दशकको अन्तरालमा सिन्धुपाल्चोकले दूध उत्पादनको उर्भरभूमि र भण्डारकैरुपमा परिचय बनाएको छ ।  जिल्ला दुग्ध उत्पादनको पकेट क्षेत्रसमेत घोषित भएको छ ।

विसं २०४२ पछि दुग्ध व्यवसायतर्फ लम्केका किसानले केही वर्षमै यसलाई प्रमुख व्यवसाय र पेशाकैरुपमा अँगाले । आम्दानीको ‘स्वाद’ले किसानले उन्नत जातका गाईभैँसी भित्रयाए र विस्तारै व्यावसायिक बन्दै गए । पचासको दशकमा आइपुग्दा जिल्ला दुग्ध उत्पादनको उर्वर भूमिका रुपमा चिनिन थाल्यो । 

जिल्ला दुग्ध उत्पादक सङ्घको तथ्याङ्कअनुसार १३ हजार घरपरिवार (किसान) दुग्ध व्यवसायमा सक्रिय छन् । दैनिक ४० हजार लिटर दूध राजधानी पैठारी हुन्छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष इन्द्रमणि दाहाल भन्छन्, “किसानले एकैदिन दूध बिक्रीबाट रु १५ लाख रुपैयाँ नगद गाउँ लादै आएका छन् ।”

“दुग्ध उत्पादनलाई व्यवसाय र पेशाकैरुपमा अगालेपछि किसानले आफ्नो आर्थिक हैसियत नै सुधारेका छन् । कम्तीमा उन्नत जातका एक गाई र एक भैँसी नभएको जिल्लाको ग्रामीण भेगमा घर कमै भेटिन्छन् । दूधकै आम्दानीले गाउँमा किसानको रवाफ बढेको छ । घरमै लाखौँ रुपैयाँको कारोबार हुन्छ । उनीहरूका सन्तति राम्रा स्कुलमा राम्रै विषय लिएर अध्ययन गर्दैछन् । यो सबै दूधको आम्दानीको कारण हो”, दाहाल बताउँछन् ।

छोटो समयमा किसानले दूधबाट आर्थिक हैसियत सुधारे पनि जिल्लामा यसको इतिहास भने त्यति लामो छैन । विसं २०४२ मा दुग्ध विकास संस्थान (डिडिसी) ले पहिलो पटक चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि दुग्ध व्यवसायको सुरुआत भएको थियो । जिल्लाको पहिलो चिस्यान केन्द्र सिपाघाटमा स्थापना भएको हो । यसको तीन वर्षपछि २०४५ मा जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ गठन भएपछि किसानले दुग्ध उत्पादनलाई व्यवसायकैरुपमा अँगालेको पाइन्छ । 

एक सय ४० दुग्ध सहकारी संस्थामा आबद्ध भएर १३ हजार किसानले आम्दानीको दरिलो स्रोत बनाएका छन् । यतिबेला जिल्लामा निजी र संस्थान (डिडिसी)का आठ चिस्यान केन्द्र सञ्चालनमा रहनुले पनि सिन्धुपाल्चोक दुग्ध उत्पादनको उर्वरभूमि रहेको पुष्टि हुन्छ ।

मेलम्ची, सिपाघाट र बलेफीमा डिडिसीका चिस्यान केन्द्र छन् । ती चिस्यान केन्द्रले एक सय २९ सङ्कलन केन्द्रमार्फत दैनिक ३० हजार लिटर दूध सङ्कलन गर्छन् । मेलम्चीले आठ हजार, सिपाघाटले १२ हजार र बलेफीले १० हजार लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । यसबाहेक सिपाघाट, साँखु र साँगाचोकमा निजी क्षेत्रले सञ्चालनमा ल्याएका तीन चिस्यान केन्द्रमा दैनिक १० हजार लिटर दूध सङ्कलन हुन्छ । 

दुग्ध व्यवसायमा किसानको आकर्षण बढ्दो रहेका कारण जिल्ला सङ्घले नौबिसे र अँधेरीमा थप दुई चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ । बढ्दो किसान आकर्षण र दुग्ध उत्पादनको प्रचुर सम्भावना रहेकाले काठमाडौँ दुग्ध वितरण आयोजनाले सिन्धुपाल्चोकलाई दुग्ध उत्पादनको पकेट क्षेत्र घोषणा गरेको केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको लेखा समिति सदस्यसमेत रहेका दाहाल बताउँछन् ।

जिल्लामा सङ्कलित दूध (डिडिसी) मार्फत बालाजु पुगेर राजधानीमा वितरण गरिन्छ । प्रतिलिटर दूधको रु ५५ देखि ९९ लिने किसानले वार्षिक पाँच लाख रुपैयाँसम्म घर भित्र्याउने गरेको दुग्ध सहकारीको तथ्याङ्कले देखाएको छ । 

मेलम्ची, तालामाराङ, शिखरपुर, ज्यामिरे, भोटेचौर, भोटसिपा, सिपापोखरे, कुविण्डे, फुल्पिङडाँडालगायत गाविस दुग्ध उत्पादनको उर्वर भूमि मानिन्छन् । 

व्यवसायमा बढ्दो आकर्षणले किसानको मात्र आम्दानीको स्तरमा सुधार आएको छैन, दुग्ध सहकारी संस्थाको मुनाफा र बचत पनि बढेको छ । मुनाफाबाट किसानले लाभांश र बचतबाट सहुलियत ब्याजदरमा ऋण पाउँछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्