
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेसनले अपेक्षित रूपमा नाफा गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमवार कम्पनीको ६०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै साल्ट ट्रेडिङले लगानी गरेका कतिपय उद्योगहरू बन्द भएको स्मरण गराए ।
उनले संस्थाको व्यवस्थापकीय कमजोरीका कारण पनि आफ्नो व्यवसायलाई विस्तार गर्न नसकेको स्पष्ट पारे । सहसचिव रेग्मीले कम्पनीको प्रतिष्पर्धात्मक क्षमतामाथि प्रश्न उठाउँदै व्यवसायलाई थप आधुनिकरण तथा सूचना प्रविधिसँग जोड्दै सकारात्मक चिन्तन बोकेर अगाडि बढ्न आवश्यक रहेको बताए ।
आगामी दिनमा संस्थागत लक्ष्य प्राप्तिका लागि जुट्न कर्मचारीहरूलाई निर्देशन दिँदै सहसचिव रेग्मीले संस्थालाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले कर्मचारीको हकहितको विषयमा उठाएका कतिपय आवश्यक मागहरू संस्थाको संस्थागत क्षमता विकास र विस्तारको लागि सहयोग गर्न तयार रहेको बताए ।
‘केही वर्ष यता हेर्दा हामीले अपेक्षित रुपमा लाभांश लिन नसकेको स्थिति छ । विगत केही वर्षदेखि हाम्रो प्रोफिट घट्दो छ । कतिपय हामीले लगानीहरू गरेको उद्योग बन्द अवस्थामा छन् । कतिपय हाम्रो आफ्नै व्यवहारहरुको कमजोरीका कारण पनि व्यवसायलाई विस्तार गर्न सकेका छैनौँ’, सहसचिव रेग्मीले भने, ‘बजार प्रतिष्पर्धी बनेको छ । हामीजस्तै अन्य निजी क्षेत्रका संस्थाहरू हाम्रो स्वामित्वमा प्रतिश्पर्धात्मक प्रश्न चिन्ह खडा भएको छ । यो हिसाबले पनि हामीले आफूलाई प्रतिष्पर्धी बनाउनुको विकल्प छैन । उच्च मनोबलयुक्त भएमात्रै हामी प्रतिष्पर्धी बन्नसक्छौँ ।’
वार्षिकोत्सवको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशनले एस.टी.सी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको जानकारी गराएको छ । दाल, चामल, नुन, चिनी, तेललगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरी तेल उत्पादन गर्ने तयारी गरेको छ ।
ट्रेडिङले हेटौँडामा रहेका नेपाल वनस्पति उद्योग सञ्चालन गरी एस.टी.सी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । उपोभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन चितवनलगायत तराई÷मधेसका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको जनाएको छ ।