०६ साउन २०८३, बुधबार

गीत हिट, फिल्म ‘फ्लप’ !

‘झिंगेदाउ’ निर्देशक देउजा भन्छन्– हामीलाई गीतले फाइदा पुर्‍यायो
भदौ २७, २०७९
गीत हिट, फिल्म ‘फ्लप’ !

गीत हिट हुँदा फिल्मको व्यापारमा फाइदा पुर्‍याएका उदाहरणहरू प्रशस्तै छन् । कुनै समय यस्तो माहाेल थियो, गीत हिट बनाउन सके फिल्म चल्थ्यो । गीतकै कारण हिट हुन्थे फिल्महरू । यसलाई यसरी बुझौँ, पहिले नै हिट भएका गीतकै कारण दर्शकहरू फिल्म हेर्न हलसम्म पुग्थे । ‘ए मेरो हजुर’, ‘मेरो एउटा साथी छ’ देखि ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’जस्ता फिल्म हिट हुनुमा उक्त फिल्ममा समावेश गीतको पनि ठूलो भूमिका मानिन्छ । ‘कुटुमा कुटु’बोलको गीत हिट हुँदा ‘२ रुपैयाँ’ फिल्मको व्यापारमा उत्तिकै फाइदा पुगेको थियो । 

गीत हिट हुँदा फिल्मलाई फाइदा पुगेको उदाहरणहरू पछिल्लो समय पनि नभएको होइनन् । भदौ १७ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘झिंगेदाउ’मा समावेश गीत ‘आगो बिना बिँडी जल्दैन’ पहिल्यै हिट भइसकेको थियो । फिल्म रिलिज हुँदासम्म त उक्त गीत शहरदेखि ग्रामीण भेगसम्म धेरैको मुखमा झुण्डिइसकेको थियो । अहिले ‘झिंगेदाउ’ सफलताका साथ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । र, फिल्म चल्नमा गीतले पनि फाइदा पुर्‍याएको निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् । 

यद्यपि, पछिल्लो समय गीतले व्यापारमा फाइदा पुर्‍याएको यो फिल्म अपवाद देखिन्छ । कुनै समय गीत हिट भयो भने फिल्म पनि हिट हुन्छ भनिन्थ्यो । तर, अहिले भने हिट गीतले फिल्मको व्यापारमा सहयोग गर्न छाडेको देखिन्छ । 

भदौ ३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कृष्णलीला’मा समावेश दुईवटा गीत हिट भए । ‘कुनै दिन त्यो कथामा’ र ‘अटल बाचा गरेँ’ गीत राम्रो चल्दा यसले फिल्मको व्यापारमा भने फाइदा पु¥याएको देखिएन । गीत हिट भए पनि फिल्म फ्लप सावित भयो । 

भदौ १० मा प्रदर्शनमा आएको फिल्म ‘राधा’को तीज गीत ‘राधा पियारी’ निकै हिट भयो । उक्त गीतले फिल्म प्रदर्शनसम्म युट्युबमा ७० लाख बढी ‘भ्युज’ पाएको थियो । 

गीत हिट हुँदा फिल्मको व्यापारलाई फाइदा पुर्‍याउँछ भन्ने अपेक्षा निर्माण टिममा थियो । तर, गीत हिट भए पनि फिल्म हेर्न हलमा दर्शकको खडेरी देखियो । शो नपाएको भन्दै निर्देशक सुवर्ण थापाले प्रदर्शनको चौँथो दिनदेखि हलबाट आफ्नो फिल्म उतारे । 

निर्देशक सुदर्शन थापाका अधिकांश फिल्मका गीतहरू निकै हिट हुँदै आएका छन् । त्यसैले पनि उनले आफ्नो फिल्ममा गीतका लागि पनि निकै मेहनत गर्दै आएका छन् । उनका विगतका केही फिल्ममा गीत हिट हुँदा व्यापारमा समेत फाइदा पुर्‍याएको उदाहरणहरू पाइन्छ । भदौ १७ गतेदेखि प्रदर्शनमा आएको उनी निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को ‘जरुरी कुरा छ’ बोलको गीत निकै हिट भयो । तर, यस गीतले फिल्मको व्यापारमा भने फाइदा पुर्‍याएको देखिएन् । 

गीतलाई युट्युबमा लाखौँले हेरे, तर फिल्म हेर्न दर्शकहरू हलसम्म पुगेनन् । फिल्मको गीत हिट भए पनि फिल्म भने फ्लप सावित भयो । यसरी हेर्दा गीतले फिल्मको व्यापारमा फाइदा पुर्‍याउँछ/पुर्‍याउँदैन् ? यसै भन्न सक्ने अवस्था देखिँदैन । गीत हिट हुँदा दर्शकमाझ फिल्मबारे केही जानकारी पुग्छ । तर, गीत हेरेका एवं सुनेका दर्शकहरू हलसम्म पुग्छन् भन्न चाहिँ नसकिने स्वयं निर्देशकहरू नै स्वीकार गर्दछन् । 

‘झिंगेदाउ’ निर्देशक देउजा भन्छन्– हामीलाई गीतले फाइदा पुर्‍यायो

‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजा फिल्म चल्न गीत-संगीतको धेरै भूमिका हुने बताउँछन् । अहिले आफ्नो फिल्म चल्नुमा गीतको पनि विशेष भूमिका रहेको उनले बताए । 

‘हामीले दर्शकहरूलाई विभिन्न तरिकाले कनेक्ट गराउने हो ।  मेरो लामो समयपछिको कमब्याक, फिल्मको टाइटल, कृतिमाथिको फिल्मभन्दा दर्शकहरू अलिकति अन्योलमा थिए’, देउजाले लोकान्तरसँग भने, ‘ति कुराहरूले भन्दा दर्शकलाई कनेक्ट गराउने काम आगो बिना बिँडी जल्दैन गीतले बढी गरेको लाग्छ ।’ 

गीतले युट्युबमा ५० लाख भ्युज पाउँदै गर्दा त्यसमध्ये केही गीत हेरेका दर्शकहरू फिल्म हेर्न आउने वातावरण बनेको उनको भनाइ छ । देउजा पनि गीत चल्यो भन्दैमा फिल्म चल्छ नै भन्ने चाहिँ नहुने बताउँछन् । 

गीतसँगै टिजर, ट्रेलरले पनि दर्शकहरूलाई फरक स्वाद दिएको र माउथ पब्लिसिटी राम्रो भइदिँदा फिल्मको व्यापारमा फाइदा पुर्‍याएको देउजाको भनाइ छ । 

‘कुनै फिल्मको शुरुमा छोड्ने कन्टेन्ट राम्रो हुन्छ । त्यसमा गीत पनि पर्न सक्छ । तर, त्यसपछि अन्य प्रमोशनल म्याटर कमजोर हुँदै जान्छ’, उनले भने, ‘गीतले मात्रै फिल्म चल्ने होइन, त्यसले फाइदा चाहिँ पुर्‍याउने हो । फिल्म चल्न गीतसँगै टिजर, ट्रेलर सबै कुराहरूले ध्यान तान्नुपर्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्