२७ असार २०८३, शनिबार

चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता

चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलवार बिहान उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमवार काठमाडौं आइपुगेका हुन् ।

सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अध्यक्ष लीले भदौ ३० गतेसम्म गर्ने ४ दिने औपचारिक भ्रमणका क्रममा भदौ २९ गते बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले मंगलवार अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेता लीले मंगलवार भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि अध्यक्ष लीको मंगलवार भेटवार्ता हुनेछ ।

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष ली भ्रमण सम्पन्न गरी भदौ ३० गते बिहीवार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्