२९ जेठ २०८३, शुक्रबार

स्वास्थ्यमन्त्रीकोे जिल्लामा सबैभन्दा बढी डेंगुका बिरामी

स्वास्थ्यमन्त्रीकोे जिल्लामा सबैभन्दा बढी डेंगुका बिरामी

स्वास्थ्य तथा जनसख्यामन्त्री भवानी खापुङको जिल्ला तेह्रथुममा डेंगुबाट धेरै संक्रमित भएका छन् । प्रदेश १ का १४ जिल्लामध्ये तेह्रथुममा सबैभन्दा धेरै डेंगुका बिरामी देखिएका हुन् । 

प्रदेश १ मा ३२० जनालाई डेंगु संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार तराईका जिल्लामा भन्दा पहाडका जिल्लामा धेरै संक्रमण देखिएको छ । झापा मोरङ तथा सुनसरी जिल्लामा पहाडी जिल्लाको तुलनामा कम देखिएको छ । 

झापा र भोजपुरमा २४÷२४ जना तथा मोरङमा १९ जनामा संक्रमण देखिएको छ भने सबैभन्दा बढी तेह्रथुम जिल्लामा ११० जनामा देखिएको छ । तेह्रथुम स्वास्थ्य तथा जनसख्या मन्त्रीको जिल्ला हो । 

संखुवासभामा ६६ जनामा देखिएको छ । ताप्लेजुङ २, धनकुटा ५, पाँचथर र सोलुखुम्बुमा ३÷३, उदयपुर ९, सुनसरीमा २१, ओखलढुङ्गा १६ र खोटाङमा १८ जनामा संक्रमण पुष्टि भएको निर्देशक बस्नेतले बताए । 

जलवायुको परिवर्तनको असर रोगमा पनि देखा परेको निर्देशक बस्नतेले बताए । 

पानी जम्ने ठाँउमा फुल पार्ने भएकाले भौगोलिक रुपले पनि पहाडी जिल्लामा धेरै पानी जम्ने खाल्डाखुल्डी हुने भएकाले संक्रमण बढी देखिएको हुनसक्ने कोशी अस्पतालका फिजिसियन डक्टर रोशन खड्काले बताए । मोरङका अस्पतालहरूमा उपचार गराइरहेका मध्ये धेरै भारत काठमाडौ गएर आएकाहरू देखिएको उनले बताए । 

लामखुट्टे १६ डिग्रीभन्दा माथिको तापक्रममा मात्र बाच्ने भएकाले पनि पहाडी जिल्ला असुरक्षित देखाएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  

‘डेंगुबाट बच्नका लागि घर आसपासमा पानी जम्न दिनु हुँदैन । पानी राखिएको भाँडा छोपेर मात्रै राख्नु पर्छ । भान्सा र बाथरुममा पानी जम्न दिनु हुँदैन । झ्याल ढोकामा खुला राख्नु हुँदैन सकभर जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । राति सुत्दा झुलको प्रयोग गर्नुपछ’ डक्टर खड्काले भने । 

डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । टाउको दुख्ने, ज्वरो आउने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि डेंगुका लक्षण भएकाले स्वास्थ्य संस्थामा आएर उपचार गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्