प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड पहिलो पटक सहभागी भएका छन् ।
प्रचण्ड उक्त समितिको सदस्य भए पनि बैठकमा उपस्थित हुने गरेका थिएनन् ।
समितिमा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ । सोही विधेयकमा दलहरूबीच सहमति जुटाउन प्रचण्ड पनि बैठकमा सहभागी भएका हुन् ।
उक्त विधेयक आजै समितिबाट पारित गरेर प्रतिनिधि सभामा पेश गर्ने सरकारको तयारी छ । त्यसैका लागि संसद बैठक पनि केहीबेरका लागि सारिएको छ ।
विधेयकका सम्बन्धमा एमालेले असहमति व्यक्त गरिरहेको छ । सोही कारण विधेयक टुंगोमा पुग्न सकेको छैन । द्वन्द्वकालीन समयका हत्याका घटनालाई गम्भीर मानव अधिकार उल्लघंन मान्नुपर्ने एमालेको तर्क छ ।
सरकारले प्रतिनिधि सभाको म्याद नसकिदै सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक पारित गर्ने तयारी गरेको छ । असोज १ पछि संसदको कार्यकाल सकिने भएकाले सरकारसँग जम्मा ३ दिनको समय मात्रै बाँकी छ ।