
सर्वाेच्च अदालतका न्यायाधीशरूले संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेका छन् ।
बुधबार सर्वोच्च अदालतमा बसेको सम्पूर्ण न्यायाधीशहरूको फूलकोर्ट बैठकबाट संसदीय समितिमा कुनै पनि न्यायाधीश उपस्थित नहुने निर्णय गरेका हुन् ।
संसदीय समितिले निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा ‘मुछेका’ बहालवाला न्यायाधीशसहित केही पूर्वप्रधानन्यायाधीश र वकिलहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेको थियो ।
समितिको निर्णय आएसँगै सर्वोच्च अदालतमा न्यायाधीशहरूको फूलकोर्ट बैठक बसेको एक न्यायाधीशले लोकान्तरलाई जानकारी दिए ।
‘संसदीय प्रक्रियामा सामेल हुने कुरा स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र संवैधानिक मूल्य, मान्यता अनुकुल हुँदैन भनेर समितिमा उपस्थित नहुने निर्णय गरेका हौ’, एक न्यायाधीशले भने ।
फूलकोर्ट बैठकमा प्रकाशमान सिंह राउत अस्वस्थ भएका कारणले अनुपस्थित थिए । उनी बाहेक सबै न्यायाधीशहरू फूल कोर्ट बैठकमा उपस्थित भएका थिए ।