
आगामी फागुनमा एकैदिन चार वटासम्म नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् ।
फागुन १९ का लागि मिलन चाम्स निर्देशित ‘वर एण्ड वधु’, सुरज पाण्डे निर्देशित ‘परस्त्री’ र लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ले यसअघि प्रदर्शन मिति घोषणा गरिसकेका थिए ।
शुक्रवार मात्रै दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले सोही मितिको ‘छक्का पञ्जा ४’ ल्याउने घोषणा गरेसँगै एकैदिन चार चलचित्रको प्रतिस्पर्धा हुने भएको हो ।
‘छक्का पञ्जा ४’ले प्रदर्शनका लागि फागुन १९ रोजेसँगै यसअघि उक्त मिति घोषणा गरेका अन्य चलचित्रका टिम तनावमा देखिएका छन् ।
कतिपयले यसअघि नै तीनवटा चलचित्रको रिलिज मिति पक्का भएको त्यही मितिमै ‘छक्का पञ्जा ४’ले रिलिज मिति घोषणा गर्नु राम्रो नभएको टिप्पणी गरेका छन् ।
‘बुलाकी’ चलचित्रका कलाकार विराज विष्टले फेसबुकमा आक्रोश मिश्रित स्टाटस् लेखेका छन् ।
उनी लेख्छन्, ‘तीन–तीन वटा चलचित्र रिलिज मिति पक्का–पक्की भैसकेको अवस्थामा त्यही मितिमा ‘छक्का पन्जा ४’ रिलिज घोषणा गर्नेलाई के भन्नु ! अझ नेपाली चलचित्रलाई माया गराँै भन्ने ।’
उनले ब्रान्डको नाममा, केही गरौं भन्ने चलचित्रकर्मीलाई नतर्साउन पनि आग्रह गरेका छन् ।
एउटै मितिमा चारवटा नेपाली चलचित्रले प्रदर्शन मिति तोकेको बिरलै पाइन्छ ।
एकैदिनका लागि चारवटा चलचित्रले प्रदर्शन मिति तोकेपछि त्यो प्रतिस्पर्धा के का लागि भन्दै धेरैले प्रश्न गरेका छन् ।
रञ्जना सिनेमा हलका व्यवस्थापक रहेका कुमार विनोद पौड्यालले फेसबुकमा लेखेका छन्,‘केही गरी रिलिज मिति परिवर्तन भएन र अहिले तोकिएका मिति अनुसार नै गयो भने फागुन १९ मा ४ वटा नेपाली चलचित्रहरू एकसाथ प्रदर्शन हुँदैछन् । आखिर यस्तो भाले जुधाई किन ?’ उनले अगाडि चलचित्रसँग सम्बन्धितलाई प्रश्न गरेका छन्, ‘के यसले नेपाली फिल्म जगतलाई फाइदा गर्छ त ?’