२५ जेठ २०८३, सोमबार

सभामुख दलको कार्यकर्ता भइदिँदा प्रतिनिधि सभाको कार्यकाल प्रभावकारी भएनः ईश्वर पोखरेल

सभामुख दलको कार्यकर्ता भइदिँदा प्रतिनिधि सभाको कार्यकाल प्रभावकारी भएनः ईश्वर पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको बफादार कार्यकर्ताको भूमिकामा रहँदा प्रतिनिधि सभाको कार्यकाल प्रभावकारी हुन नसकेको उनको आरोप थियो । 

शुक्रवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा पोखरेलले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रतिनिधि सभाले आफूले दिनुपर्ने डेलिभरी दिन नसकेको बताए । उनले सभामुख सापकोटाको भूमिका प्रतिनिधिसभाको नेतृत्वको रुपमा दुःखद् रहेको प्रतिक्रिया दिए । 

‘अहिलेको सभामुखज्यूले वास्तवमा एउटा प्रतिनिधिसभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रूपमा भूमिका खेल्नुभयो कतिपय अवसरमा । त्यो बडो दुःखद् छ । त्यसकारणले यो प्रतिनिधिसभाले जे डेलिभरी दिनु पथ्र्यो, त्यो प्रभावकारी ढंगले दिन सकेन’, उनले भने, ‘त्यसकारणले केही राम्रा कामहरू गर्नुपर्ने आवश्यक्ता थियो । चाहे विधेयकहरू पास गर्ने शिलशिलामा होस वा राष्ट्रका ज्वलन्त मुद्दाहरूमा होस् । त्यो कुरा भएन । र, सरकारका कामहरूको विषयमा खुला-खुलस्त प्रतिनिधिसभामा छलफल हुने, संसदमा छलफल हुने त्यो छलफल पश्चात् र जनताले सही कुरा जानकारी पाउने परिस्थिति बन्न सकेन ।’

salt training

कमेन्ट गर्नुहोस्