
बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनल पुगेको हो ।
बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले समान एक÷एक गोल गरे ।
बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट शुरुवाती अग्रता लिएको थियो । खेलको १८औँ मिनेटमा सविनाले गोल गर्दै बंगलादेशको अग्रता २–० को बनाएकी थिएन् । ३०औँ मिनेटमा सरकारले गोल गर्दा बंगलादेशको अग्रता तेब्बर भएको थियो भने खेलको ३५औँ मिनेटमा चक्माले गोल गरेपछि पहिलो हाफमा बंगलादेश ४–० ले अगाडि रह्यो ।
पूरा समय भुटामाथि हाबी भएको बंगलादेशले दोस्रो हाफमा थप ४ गोल गर्यो । खेलको ५४औँ मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५–० को बनाएकी थिइन् । खेलको ५७औँ मिनेटमा प्रभिन, ८७औँ मिनेटमा खातुन र खेलको इन्जुरी समयमा सविनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८–० को जित दिलाउन सफल भएकी थिइन् ।