
जनकपुरधाममा प्रत्येक वर्षजस्तै यस वर्षमा पनि विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा आयोजना हुने सस्तो बजारका सम्बन्धमा छलफल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको छलफलमा सहभागीले सस्तो बजार नाम भए पनि यहाँका बजार सस्तो नरहेको जनाउँँदै ग्राहकलाई सहुलियत दरमा समान उपलब्ध गराउन सबै पक्ष प्रयत्नरत हुनुपर्नेमा जोड दिए ।
प्रजिअ पौडेलले बजारमा ग्राहक ठग्न नदिन पहल गरिने जानकारी गराउँदै शनिवारदेखि धनुषामा चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरिने बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले यो बजारभन्दा पनि विशेष प्रदर्शनी रहेकाले स्थानीय उत्पादनको बजार प्रवद्र्धनका लागि अवसरको रुपमा सदुपयोग गर्नुपर्ने अवश्यकता औंल्याए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष तथा बजार व्यवस्थापन समितिका सदस्य सचिव जीतेन्द्र महासेठले असोज २–६ गतेसम्म बजारको स्टल बुक गर्न सकिने जानकारी दिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, उद्योगी, व्यवसायी, पत्रकारसहित बजार, उपभोक्तासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।