नयाँ घर बनेपछि खुशीले गद्गद् छन् तनहुँको भानु नगरपालिका–४ का गोरे नेपाली । छाप्रोमा बस्दाको समयमा राति जंगली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब नेपाली मुक्त भएका छन् ।
‘जनता आवास कार्यक्रम’ अन्तर्गत गण्डकी प्रदेश सरकारले २ कोठे पक्की घर बनाइदिएपछि उनको डर र चिन्ता हटेको हो ।
विगत लामो समयदेखि कच्ची र जोखिम घरमा बस्न बाध्य भएका यहाँका विपन्न समुदायका व्यक्तिको ढिलै भए पनि अनुहारमा खुशी छाएको छ । इँटाको गारो रंगीन जस्तापाताले छाएको सुरक्षित घरमा यसपालिको दशैं मनाउन पाउँदा खुशी लागेको नेपाली बताउँछन् । नयाँ घरमा बस्न पाइँँदैन कि भन्ने सपना पूरा भएको उहाँको भनाइ छ ।
जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा २४६ सुरक्षित घर बनाएपछि गरीब तथा विपन्न घरपरिवारमा खुशी छाएको छ । वर्षौंदेखि छाप्रोमा बस्दै आएका घर परिवार नयाँ घर पाउँदा विपन्न समुदायका मानिस निकै खुशी छन् । जिल्लाका १० वटै पालिकामा विपन्न समुदायका लागि घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनीयर तथा जनता आवास कार्यक्रमका संयोजक हिमाल आचार्य बताउँछन् ।
घर निर्माणपछि २११ नयाँ घरमा सरिसकेका छन् भने ७१ जना दशैंसम्ममा सर्ने तयारीमा रहेको कार्यालयलले जनाएको छ ।
आव २०७५/७६ मा जनता आवास कार्यक्रम हस्तान्तरण गरिएपछि कार्यालयमार्फत घर निर्माण कार्य शुरू गरिएको हो । जिल्लाको देवघाट गाउँपालिका–५ की सन्तमाया बोटे पनि नयाँ घरमा दशैं मनाउन पाउने भएपछि खुशी लागेको बताउँछिन् । घर पाउँदा वर्षायाममा ढुक्कले बस्न पाएपछि छाप्रोमा बस्दा खेप्नुपरेको पीडा अन्त्य भएको उनको भनाइ छ ।
निर्माण गरिएका घरमध्ये २११ परिवारले पूरै किस्ता लगेका र ७५ परिवारले अन्तिम किस्ता लैजान बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनीयर धनमाया मिश्र जानकारी दिन्छन् ।
९ करोड ५ लाख ९५ हजार रुपैयाँ बजेट विनियोजन भएकामा आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले ३ लाख ३२ हजार ५०० उपलब्ध गराएको थियो । सम्बन्धित लाभग्राहीले १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने प्रावधान थियो । पालिकामार्फत भवन निर्माण गर्दा लाभग्राहीलाई सम्झौता गर्न, रकम भुक्तानी लिन तथा अनुगमन गर्न सजिलो भएको कार्यालय प्रमुख सिनियर इन्जिनीयर दिनेशकुमार घिमिरे बताउँछन् ।
जग्गा जमिन भएका तर घर बनाउने रकम नभएका गरीब, दलित तथा लोपोन्मुख परिवारलाई कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको उनको भनाइ छ ।