
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्या भण्डारीलाई शितल निवासबाट चपली हाइट नलखेटी विश्राम नलिने चेतावनी दिएकी छन् ।
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्या भण्डारीको कदमविरुद्ध विद्यार्थी संगठनले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले भण्डारीलाई शितलनिवासबाट लखेट्ने दाबी गरेकी हुन् ।
‘अब शितल निवास बस्ने अधिकार तपाईंलाई छैन, बालुवाटारबाट बालकोट लखटे झैँ तपाईंलाई शितलनिवासबाट चपली हाइट (भण्डारीको निजी निवास) नलखटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम लिने छैन’, अध्यक्ष सिंहले भनिन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले भण्डारीको भूमिका बालकोटको सहयात्रीको जस्तो भएको आरोप लगाएका थिए ।