
इलामको चुलाचुली गाउँपालिका–५ पुकुवामा एक व्यक्तिको हत्या गरेको अभियोगमा ३ जना पक्राउ गरेका छन् । झापा दमक नगरपालिका–३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाम चुलाचुली गाउँपालिका–४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई र अर्का दुई जना पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार झ्याम्लेसमेतका ५/७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए । प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीको टोलीले गुरुङलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगेको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई उपचारका लागि बी एण्ड सी अस्पताल विर्तामोड लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियाे ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले हत्यामा संलग्नहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।