युक्रेनमा नियन्त्रण लिइएको भूमिको रक्षाका लागि रुसले आफ्नो सबभन्दा शक्तिशाली आणविक हतियार उपयोग गर्ने रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले बताएका छन् ।
यसै हप्ता हुने जनमतसंग्रहपछि युक्रेनका नियन्त्रित भूभाग रुसको अंग बन्ने अनि त्यसपछि तिनको रक्षाका लागि रुसले सबैखाले हतियार उपयोग गर्ने उनको भनाइ छ ।
विशाल सरमत क्षेप्यास्त जस्तो स्ट्राटेजिक आणविक हतियार पनि उपयोग गरिने मेदभेदेभले बताए । उनले हाइपरसोनिक प्रविधि समेत उपयोग गरिने संकेत दिएका छन् । त्यसको तोड पश्चिमका वायुरक्षा प्रणालीसँग छैन ।
‘पश्चिमको संस्थापन पक्ष र नेटो मुलुकका सबै नागरिकले बुझ्नुपर्छ– रुसले आफ्नो बाटो छानिसकेको छ,’ मेदभेदेभले बताए, ‘अब पछाडि हट्ने ठाउँ छैन ।’