नेपाल पौडी संघद्वारा आयोजना गरिएको २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा प्रदेश १ का बिकास कुमालले आज दोश्रो दिन थप दुई स्वर्ण प्राप्त गर्न सफल भएका छन् । कुमालले हिजो पहिलो दिनको खेलमा पनि दुई स्वर्ण जितेका थिए ।
गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखी आयोजना गरिएको प्रतियोगिताको दोश्रो दिन कुमालले २०० मिटर ब्यक्तिगत मिड्लेमा २ मिनट २२.३७ सेकेन्ड र २०० मिटर ब्रेष्टस्ट्रोकमा २ मिनट ३३.५३ सेकेन्ड समयका साथ दुई स्वर्ण जितेका हुन् । मिड्लेमा बागमतीका सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए । यस्तै ब्रेष्टस्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए ।
५० मिटर ब्याकस्ट्रोकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २९.१० सेकेन्ड समयका साथ स्वर्ण जिते । सेनाका अनुभव सुब्बाले रजत र पुलिसका गौरव लामाले कास्य पाए । १०० मिटर फ्रिस्टायलमा पुलिसका सुविज्ञ मान तुलाधरले ५६.२० सेकेन्ड समयमा साथ स्वार्ण हात पार्दा बागमतीका ईरभिन श्रेष्ठ र सेरेन सिंहले क्रमश रजत र कास्य पाए । १०० मिटर ब्याकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले आफ्नो तथा क्लबका लागि दोश्रो स्वर्ण जिते । उनले १ मिनट ४.४५ सेकेन्ड समयका साथ दुरी पुरा गरे ।
प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र एपिएफका जेडेन श्रेष्ठले कास्य पाए । ५० मिटर फ्रिस्टायलमा सेनाका अनुभव सुब्बाले २५.७६ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । बागमतीका अल्भिन महर्जन र ईरभिन श्रेष्ठले क्रमशः रजत र कास्य पाए ।