२५ जेठ २०८३, सोमबार

‘एक पालिका एक सडक’ अभियान नारामै सीमित, दोर्दीको केन्द्र जोड्ने सडकको काम अलपत्र

‘एक पालिका एक सडक’ अभियान नारामै सीमित, दोर्दीको केन्द्र जोड्ने सडकको काम अलपत्र
प्रतिकात्मक तस्वीर

सरकारले एक पालिका एक सडक पुर्‍याउने अभियानअन्तर्गत अघि बढाएको लमजुङको दोर्दी गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक निर्माण अवधि सकिए पनि काम अधुरै छ । 

गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रे गर्न तोकिएको अवधि सकिए पनि काम सम्पन्न हुन नसकेको हो । २ वर्ष (गत असार २ गते) सम्ममा निर्माण सम्पन्न गर्ने भनी सम्झौता भएको थियो ।

काठमाडौंस्थित कन्ट्रयाक निर्माण प्राइभेट लिमिटेडले निर्माण गर्दै आएको सडक विक्रम संवत् २०७७ असार ३ गते सम्झौता भएर २०७९ असार २ गते कालोपत्रे गरिसक्नुपर्ने सम्झौता थियो तर निर्धारित समयमा काम हुन नसकेपछि आगामी पुस १५ गतेसम्मका लागि पुनः म्याद थप गरिएको छ ।

प्रदेश सरकारको २६ करोड २९ लाख ६ हजार २२५ रुपैयाँमा लगानीमा ७ दशमलव १२१ किलोमिटर कालोपत्रे हुन लागेको हो । बेंसीशहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने सडकको अस्फाल्ट कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

कार्यालयका रोड इन्जिनीयर राजेश अधिकारीका अनुसार हालसम्म ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ३६ दशमलव ५१ प्रतिशत छ । हालसम्म ९ करोड ६० लाख २० हजार १० रुपैयाँ कार्यालयले ठेकेदार कम्पनीलाई दिइसकेको उनको भनाइ थियो ।

हालसम्म नाली  र एउटा आरसीसी कल्र्भटका साथै सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने यतिबेला ग्याबेल, ग्याबिन वाल, मशिन वाल, स्ट्रक्चरको काम भइरहेको उनको भनाइ थियो । सडकमध्ये २ ठाउँमा १ हजार ११३ घनमिटर सडक ढलान गर्ने भएको छ । 

सडक कोभिडका कारण र निर्माण कार्य शुरू गर्न ढिलाइ भएको जनाउँदै निर्माण कम्पनीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरे पनि पुनः म्याद थप गरिएको समयमा भने सम्पन्न गर्नसक्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सडकको विभिन्न स्थानमा ६० कामदार संलग्न छन् । सडक निर्माण भएसँगै दोर्दी पालिका र सडक आसपासका वासिन्दालाई सदरमुकाम बेंसीशहरसम्म आउनका लागि समय समयको बचत हुनाका साथै सहज यात्रा गर्न पाउने छन् भने किसानले उब्जाएका खेतीपाती समेत सदरमुकामसम्म ल्याउन सहज हुने भएको छ ।

गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले सडक चाँडै सम्पन्न गराउन सम्बन्धित निकायमा कुरा उठाउँदै आएको बताए । सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडककोे यात्रामा कठिनाइ हुँदा जनताले सास्ती भोग्दै आउनुपरेकाले आफूले सक्दो पहल गर्दै आएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्