
बलिउड अभिनेता सन्नी देओल र दुल्कर सलमानको फिल्म ‘चुप’ शुक्रवारदेखि हलमा आएको छ ।
हलमा लागेदेखि नै यस चलिचत्रले राम्रो समीक्षा पाइरहेको छ ।
एक हिसाबले दर्शकहरू यस चलचित्रबाट निकै प्रभावित भएको बताइएको छ ।
‘चीनी कम’ र ‘प्याड म्यान’ जस्ता फिल्म बनाएका निर्देशक आर बाल्कीको फिल्म ‘चुप’ एक क्राइम थ्रिलर हो जसको कथा निकै अनौठो रहेको छ ।
फिल्ममा एक सिरियल किलर छन् जसले फिल्म समीक्षकको हत्या गर्दै आफ्नो मृत शरीरलाई स्टार रेटिङ दिन्छ।
‘चुप’ मा दुल्कर सलमान फिल्म निर्माताको भूमिकामा छन् भने सनी देओलले सिरियल किलरलाई पक्रने प्रहरीको भूमिका निभाइरहेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हलमा आएको पहिलो दिन यस चलिचत्रले ३ करोड भारतीय रुपैयाँभन्दा बढीको ओपनिङ कलेक्सन गरेको थियो ।
शुक्रबार देशभरका ४ हजारभन्दा बढी मल्टिप्लेक्स स्क्रिनमा चलचित्र हेर्नको लागि टिकट मूल्य मात्र ७५ भारतीय रुपैयाँ राखिएकोले धेरै हेरिएको भारतीय सञ्चारमाध्यमको भनाइ छ ।
त्यस दिन भारतमा राष्ट्रिय चलचित्र दिवस मनाइएकाले त्यसको पनि फाइदा यस चलिचत्रले लिएको देखिन्छ ।