
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताका बारेमा राजनीतिक दलहरूको फरक–फरक मत आएको बताएका छन् । उनले आगामी दिनमा पनि दलहरूको परामर्श र सरसल्लाहमा सहजीकरण गर्दै जाने प्रतिबद्धता प्रमुख आयुक्तले व्यक्त गरेको बताए । आइतवार राजनीतिक दलका नेताहरूसँगको छलफलपछि उनले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयनका लागि प्रयास गरिने बताए ।
‘आयोगले सबै राजनीतिक दलहरूको परामर्शमा आचारसंहिता निर्माण गरेको हो । यद्यपि, राजनीतिक दलहरूको फरक–फरक मत छन् र आयोगले आज पनि आगामी दिनमा पनि दलहरूको परामर्श र सरसल्लाहमा सहजीकरण गर्दै जाने गरी माननीय प्रमुख आयुक्तज्युले त्यसलाई सहजीकरण गर्ने कुरा व्यक्त गर्नुभएको छ’, प्रवक्ता पौडेलले भने, ‘दलहरूको सहमतिमा केही कुरा संशोधन गर्नुपर्ने भएमा सहजीकरण गर्ने पनि व्यक्त गर्नुभएको छ । उमेद्वारले निर्वाचन आयोगले तोकेको खर्चको सीमाअनुसार गरेको खर्चको विवरण निर्वाचनको अन्तिम परिणाम आएको तीस दिनभित्र बुझाउन पर्ने कानूनी प्रावधान हो । कानूनबमोजिम विवरण नबुझाएको खण्डमा के हुने भन्नेकुरा निर्वाचन आयोग ऐन २०७३ मा उल्लेख छ ।’
पौडेलले निर्वाचनसम्बन्धी कानून दलहरूले नै निर्माण गरेको भन्दै आयोगले त्यसलाई कार्यान्वयनमात्र गरेको बताए । ‘आयोगले सार्वभौम ससंद्ले बनाएको कानूनको कार्यान्वयन मात्र गरेको हो । आयोगले कानून बनाउने होइन । बनेको कानूनलाई कार्यान्वयन मात्र गरेको हो । आयोग ऐन २०७३ को दफा २६ मा जे प्रावधान छ त्यसैलाई कार्यान्वयन मात्र गरेको हो । कानूनको अक्षरस कार्यान्वयन गरेको हो । कानूनभन्दा बढी, अगाडी गएर कारवाही गरेको छैन’, उनले भने ।