नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । यस निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याए।
आज झापाको दमकको कस्मिक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिने छ ।” आफ्नै गृह क्षेत्रमा भएको सो कार्यक्रममा उहाँले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गरे । अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उनको भनाइ थियो ।