मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि शुरू भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै शुरू हुन्छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।
बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ ।
यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधीको रुपमा सेवन गर्ने गरिएको छ ।
घटस्थापनाको साइत बिहान १० : २३ बजे
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
आज घटस्थापनाको साइत बिहान १० : २३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उनले बताए।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ ।
महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ ।
यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ ।
वडादसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ ।
यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।
विजयादशमीको साइत असोज १९ गते ११ : ५१ बजे
नवरात्र भनेर समेत चिनिने दशैँ नौ रात र दश दिनको हुन्छ । कुनै वर्ष तिथि घटेर आठ रात र नौ दिनको मात्र हुने गर्छ ।
तिथिको घटबढका कारण आठ राता र नौ दिनको नवरात्र हुने समयमा खोपेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए ।
आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।
असोज १९ गते देवी विसर्जनको साइत बिहान १० : ३४ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ : ५१ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।
पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।
आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । यस वर्ष असोज २३ गते आइतवार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।
हनुमानढोकाको दशैँ घरमा विशेष पूजा गरिँदै
परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरू हुन्छ ।
सोमवार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।
दशैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन ।
हनुमानढोकाको दशैँ घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।
बढ्न थाले थात थलो फर्कने यात्री
रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका व्यक्ति दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।
काठमाडौँ उपत्यका बाहिर जाने यात्री आजैदेखि बढ्ने गर्छन् । नयाँबसपार्क, कलङ्कीलगायत स्थानमा काठमाडौँ उपत्यका बाहिरिनेको भीड देखिन्छ ।
धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिएका छन् । शैक्षिक संस्था बिदा भएसँगै विद्यार्थी, शिक्षक, प्राध्यापकलगायत आजैदेखि आ–आफ्ना घर जान्छन् । देश विदेशबाट गाउँ फर्कनेहरु बढ्न थालेसँगै देशका ग्रामीण भेगमा पनि बडादशैँको चहलपहल शुरू हुन्छ । पूर्णप्रसाद मिश्र,रासस
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...