
गोरखाको कालिका मन्दिरमा रहेको दशैंघरमा सोमवार विधिपूर्वक जमरा राखिएको छ ।
बिहान १०ः२३ मिनेटको शुभसाइतमा दशैंघरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।
परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा २ पाथी र गोरखनाथ गुफामा १ पाथी जौको जमरा राखिएको उनले बताए ।
मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए ।
गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मालम्बीहरूले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।
बडादशैंमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरू भएसँगै कालिका मन्दिरमा नियमित कालोे बोकाको बलिदिने प्रचलन छ ।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए ।
मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए । परम्पराअनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण नित्यपूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताए ।
गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ थियो ।