
नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानले ९ गते आइतबार आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालय, आयोग र विभिन्न निकायहरू साथै प्राज्ञिक संस्था र गैरसरकारी निकायहरूको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र विशिष्ट अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। स्वर्णिम वाग्लेले नीति प्रवचन दिएका थिए ।
डा. भट्टराई र डा. वाग्लेले “नेपाल जस्ता अल्पविकसित मुलुकहरूको विकासमा थिंक ट्याङ्कहरूको भूमिका” शीर्षकमा बोलेका थिए ।
डा. वाग्लेले अनुसन्धानको प्रवृत्ति र अनुसन्धान संस्थाको भूमिकाको सेरोफेरोमा रहेर प्रवचन दिए ।
उनले स्थानीय तथ्याङ्कलाई विश्वव्यापीकरण गर्ने र विश्वको तथ्याङ्कलाई स्थानीयकरण गर्ने कार्यमा प्रतिष्ठानले भूमिका खेल्नुपर्ने उल्लेख गरे ।
अनुसन्धान संस्थाको काम भनेको मिथ्या र भ्रम निर्मूल पार्नु पनि रहेको उनले बताए ।
सार्वजनिक सूचनाहरू ढिलो गरी जनतामा पुग्दा जनताले बुझ्ने बेलासम्म ढिलो भई सक्ने हुनाले प्रतिष्ठानले चुस्तदुरुस्त रूपमा सूचनाहरू सम्प्रेषण गर्नु पर्ने पनि बताए ।
डा. भट्टराईले रूपान्तरणका लागि दूरदृष्टि नेतृत्व, सामूहिक अठोट र सही व्यवस्थापन हुनु पर्ने बताए ।
उनले थिंक ट्याङ्कहरूलाई गठन आदेशको माध्यमबाट होइन, छाता ऐन मार्फत नै संस्थागत विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा। विष्णु राज उप्रेतीले प्रतिष्ठानका गतिविधिहरूबारे प्रस्तुति गर्नुका साथै प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री श्रेष्ठलाई प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा प्रतिष्ठानले वार्षिक प्रतिवेदन, जर्नल, नीति सिफारिसका साथै केही अनुसन्धान प्रतिवेदनहरू समेत विमोचन गरिएको थियो ।
प्रतिष्ठानले अघिल्लो वर्ष (२०७८ साल)बाट आफ्नो स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक नीतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने संस्था तथा व्यक्तिलाई नीति सम्मान प्रदान गर्न शुरूआत गरेको थियो ।
अघिल्लो वर्षको नीति सम्मान पुरस्कार काठमाडौं विश्वविद्यालयले प्राप्त गरेको थियो ।
प्रतिष्ठानले यो वर्षको नीति सम्मान स्वरुप रु. एक लाख राशीसहितको प्रमाणपत्र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई प्रदान गरियो भने सर्वाङ्गीण विकास अध्ययन केन्द्र र त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग लाई नीति प्रशंसापत्र प्रदान गरिएको थियो ।
नीति सम्मान ग्रहण गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख डा. राजन खनालले यस सम्मानले नीति क्षेत्रमा काम गर्न अझै हौसला बढेको बताए ।
यसको साथै, प्रतिष्ठानले आफ्नो कर्मचारी भित्रबाट वर्ष कर्मचारी छनौट गरी पुरस्कार र प्रशंसा पत्र समेत प्रदान गरेको छ ।
कार्यक्रम गैर्हिधारा स्थित एलिस रिसेप्सनमा आयोजना गरिएको छ ।