
मनास्लु हिमाल आरोहणको लागि ४०४ जनाले अनुमति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार अहिले आरोहणको सिजन भएकाले बेसक्याम्पबाट ३० देखि ४० जना मात्रै माथितिर लागेका छन् ।
बेसक्याम्पबाट माथि गएकामध्ये १२ जना घाइते भएको तर कोही पनि हराएको जानकारी नआएको पर्यटन विभागका पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले बताए । उनले भने, ‘विभागबाट सम्पर्क अधिकृत एलिसा अर्याल सोही क्षेत्रमा खटिएकी छन् । उनले दिएको जानकारीअनुसार हिमपहिरो गए पनि त्यसबाट मानवीय क्षति भने भएको छैन ।’
उनले भने, ‘मनास्लुमा सोमवार दिउँसो पौने १ बजे हिमपहिरो गएको भन्ने खबर आएको छ । हिमपहिरो आएपछि भागदौड हुँदा १२ जना घाइते भएको र त्यसमध्ये २ जना गम्भिर भएको भनिएको छ । घाइतेको उद्दारका लागि हेलिकप्टर पठाइ सकिएको छ ।’
हिमपहिरो कति ठूलो हो र यसले पारेको प्रभावको विषयमा थप अध्ययन गरेर मात्रै आरोहण हुन सक्ने वा नसक्ने अवस्थाको जानकारी गराइने छ । आरोहीहरू अहिले सुरक्षित स्थानतर्फ लागेकोले अहिले नै आरोहण रद्द गर्ने वा नगर्ने भन्ने विषयमा भने भन्न सकिँदैन ।
उद्दारका लागि हेलि एभरेष्ट, सिम्रिक र कैलाशको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । उक्त स्थानमा मौसम खराब भएकोले उद्दारका लागि हेलिकप्टर पुग्न सकेका छैनन् । मौसममा सुधार आउनासाथ उद्दार गर्ने गरी तयारी अवस्थामा राखिएको खतिवडाले जानकारी दिए ।