काठमाडौँ, १९ साउन - दोलखा जिल्लाको लामाबगरबाट चीन प्रवेश गर्ने लामाबगर–लप्ची–लुमनान,थासिङ–झाखिगान्कुन सडकमार्ग नाका खोल्न दोलखाका तीन जना सांसदले माग गरेका छन् ।

सांसद पशुपति चौलागाईं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेर सो सम्बन्धी मागपत्र बुझाउनुभएको हो ।
मागपत्रमा लामामगरबाट चीन प्रवेश गर्ने सो सडकमार्ग जम्मा ४६ किलोमिटर मात्र हुने, यो मार्ग सञ्चालनमा आएपछि काठमाडौँको दूरी छोटो हुने र सिन्धुली–बर्दिवास–जलेश्वर मार्ग २२० किमीमा भारतसंग जोड्न सकिने छोटो मार्ग हुने भएको यो मार्ग खोल्नुपर्ने उल्लेख छ ।
अहिले सञ्चालनमा रहेका तातोपानी र केरुङ नाकाभन्दा पनि भौगोलिकरुपमा सुरक्षित भएको हुँदा चीन सरकारका उपप्रधानमन्त्रीको नेपाल भ्रमणका समयमा यो नाका खोल्न र सडक निर्माण प्रक्रियालाई प्राथमिकताका साथ राख्न माग गरिएको पूर्वमन्त्री तथा सांसद पोखरेलले जानकारी दिनुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री महराले यो विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र चीनका उपप्रधानमन्त्री नेपाल भ्रमणमा आएका बेलामा कार्यसूची बनाएर यसलाई प्राथमिकताका साथ राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दोलखाका तीनै जना सांसदले सोही माग आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि बुझाएका छन् । रासस