०५ साउन २०८३, मंगलबार
रक्सीको दशैं बजार

विदेशी रक्सीविनाको दशैं !

असोज १७, २०७९
विदेशी रक्सीविनाको दशैं !

अर्थतन्त्र संकटउन्मुख भएसँगै सरकारले अत्यावश्यकबाहेकका सामान आयातमा रोक लगाएको करीब ५ महिना भएको छ ।

गत जेठदेखि सरकारले विलाशी वस्तुका रूपमा सूचीकृत भएका सामानहरूको आयातमा रोक लगाएको हो । जसले गर्दा यसपटकको दशैं विलासी सामानविनाको बन्न पुगेको छ ।

यसपटक दशैंका लागि महंगा गाडी पनि नेपाल भित्रन पाएनन् । यति मात्रै नभएर विलाशी वस्तुमा पर्ने महंगा विदेशी रक्सी पनि आयात नहुँदा यसपटकको दशैं व्यवसायीहरूका लागि खल्लो बन्न पुगेको छ । 

व्यवसायीहरूका लागि मात्र नभई विलाशी रक्सीका पारखीहरूलाई पनि यसपालिको दशैं खल्लो बन्न लागेको व्यवसायीहरूको गुनासो छ । 

दशैंको पूर्वसन्ध्यामा प्रायः विदेशी रक्सीको नेपाली बजार सुनसान प्रायः देखिन्छ । 

यसपटक औद्योगिक घराना, बैंकिङ क्षेत्र हुँदै अन्य विदेशी रक्सीको ट्रेन्डलाई पछ्याउने जमातहरूले प्रयाप्त मात्रामा यस्ता रक्सी पाउन सकेका छैनन् । 

‘कोटेसन’ नखुल्दा फिका भयो दशैं

खासमा पछिल्लो समय महंगा रक्सीलाई दशैंमा दिइने उपहारको रूपमा पनि लिन थालिएको छ ।

प्रतिष्ठित औद्योगिक घराना होस् वा बैंकहरू वा अन्य कुनै कर्पोरेट कार्यालयमा समेत ‘ब्रान्डेड’ विदेशी रक्सी उपहारस्वरूप आदानप्रदान गर्ने अवस्था थियो । 

तर यसपटकको दशैंमा आयातकर्ताहरूले त्यसका लागि ‘कोटेसन’ नै खुलाएनन् । 

खासमा, यस्ता कम्पनीहरूले चाडपर्वको अवसरमा कर्पोरेट हाउसहरूका लागि रक्सीको माग औपचारिक रूपमै गर्ने गरेका थिए । 

तर, यसपटक रक्सी आयात नहुँदा त्यो काम रोकिएको नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । 

रक्सी नपाउँदा कर्पोरेट कार्यालयबाट अन्य संस्थाहरूमा पुग्ने मित्रवत उपहारमा समेत कटौती गरिएको अन्य मदिरा व्यवसायीहरूको भनाइ छ  । 

नजिकिँदै दशैं, रित्तिँदै गोदाम 

दशैंको पूर्वसन्ध्यामा व्यवसायीहरूसँगको कुराकानीमा उनीहरूले दशैंअगावै महंगा रक्सीहरूको गोदाम रित्तिन थालेको बताएका छन् । 

‘मौज्दातको रूपमा रहेका केही विदेशी ब्रान्डेड रक्सीहरू सकिसकेको अवस्था छ,’ केटीएम सप्लायर्सका सञ्चालक गणेशबहादुर कटुवालले लोकान्तरसँग भने । 

उनी मात्रै हैन, अन्य व्यवसायीहरूका अनुसार पनि अहिले प्रायः विदेशी रक्सीको मौज्दात खालीखाली रहेको छ । 

लामो समयसम्म रक्सी आयात नहुँदा भएको मौज्दात  समेत सकिएको व्यवसायीहरूको भनाइ छ । 

बजारमा रक्सी नहुँदा व्यवसायीहरू समेत फुर्सदिला बनेका छन् । 

अघिल्ला वर्षहरूमा कारोबार मिलाउँदैमा भ्याइनभ्याइ हुने व्यवसायीहरूलाई यसपटक भने संयोगले फुर्सद मिलेको छ । 

मदिरा व्यवसायी महासंघका अध्यक्ष शेर्पा विगतका वर्षहरूमा निकै व्यस्त हुन्थे । 

तर यसपटक उनको व्यस्तता कम छ । 

दशैंका लागि विदेशी रक्सीको बजार सुनसान रहँदा उनलाई यसपटक केही फुर्सद बनेको उनको भनाइ छ ।

उनले लोकान्तरसँग भने, ‘रक्सी आयात नहुँदाको परिणामका रूपमा मलाई हेर्दा पनि हुन्छ । म अघिल्लो वर्ष दशैंमा निकै व्यस्त थिएँ, व्यापारमा । तर यसपटक फुर्सद जस्तै बनेको छ । म घुम्दै हिँडेको छु ।’

नेपाली रक्सीको माग बढ्यो

नेपालमा रक्सी आयात गर्नेहरूमा विशाल ग्रुप, शारडा ग्रुप लगायत अग्रपंक्तिमा पर्छन् । 

यी ग्रुपका कम्पनीहरूले आयात गर्ने गरेका ती रक्सीहरूमध्ये कतिपय अहिले बजारमा छैन । 

‘सिवास, सिरिकल, एब्सोल्युट भोड्का, डिफिटर जीन लगायत अहिले सक्किएको अवस्था छ,’ शारडा ग्रुपले आयात गर्ने रक्सीहरूको काठमाडौं वितरक केटीएम सप्लायर्सका सञ्चालक गणेशबहादुर कटुवालले भने । 

उनका अनुसार अब बजारमा विदेशी रक्सीको मौज्दात निकै न्यून छ । विगतमा करीब साढे ३ करोड रुपैयाँसम्मको रक्सी दशैंमा कारोबार हुने गरेको उनी बताउँछन् । 

यो उनको सप्लायर्सको मात्रै कारोबार हो । 

तर यसपटक विदेशी रक्सीको अभावमा उनको कारोबार त्यसतर्फ छैन । 

बजारमा विदेशी रक्सी नभएपछि नेपाली रक्सी वा वीयरको बजार बढेको उनको भनाइ छ ।

‘केही न केही त खानै पर्‍यो, नेपालका चलेका ब्रान्डका रक्सी वा वीयरहरू लान थाल्नुभएको छ,’ उनले भने ।   

‘सुनसान बजार, पुरानोले पुग्छ कि ?’

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले यस वर्षको दशैंमा विदेशी रक्सी निकै कम मात्रै प्रयोग हुने बताए । 

विदेशी रक्सी नआउँदा बजारमा उपभोक्ताले अहिले नेपाली रक्सी नै किन्न थालेको उनको बुझाइ छ । 

उनका अनुसार, विगतका दशैंको तुलनामा यसपटकको दशैंमा करीब २५ प्रतिशतमात्रै रक्सीको माग छ । 

मुलुकको आर्थिक, राजनीतिकलगायत कारणले यसपटक माग नै कम भएको उनको बुझाइ छ । 

एकातिर बजार माग कम छ भने अर्कातर्फ विदेशी रक्सीको आयात बन्द छ,’ उनले भने, ‘यस वर्षको दशैंमा नेपाली रक्सी नै बढी मात्रामा कारोबार हुन्छ भन्ने लागेको छ ।’

उनका अनुसार, विदेशी रक्सी आयात नहुनु,  देशको आर्थिक अवस्था राम्रो नहुनु, व्यवसायीलाई बैंकले ऋण नदिनु जस्ता कारणले पनि यसपटक रक्सीको कारोबारमा गिरावट आएको छ । 

‘सरकारी नीतिले नेपाली रक्सीलाई फाइदा’

विषेशगरी विदेशी रक्सी नेपालीले बढी मात्रामा रुचाउँछन् । तर पछिल्ला वर्षहरूमा भने नेपाली रक्सीले पनि बजार पाउँदै गएको छ ।

यसपटक विदेशी रक्सीको आयात रोक्ने सरकारी नीतिका कारण नेपाली रक्सीहरूले बजार थप विस्तार गर्ने मौका पाएका छन् । 

जसका कारण अहिले नेपाली रक्सीको माग बढ्दो रहेको महासंघका सचिव रमेश आचार्यले जानकारी दिए । 

यता अध्यक्ष शेर्पाले पनि अब नेपाली रक्सीले बजार माग धान्न सक्ने भन्दै नेपालीले नेपाली रक्सीमा नै बानी पार्नुपर्ने बताए । 

उनले भने, ‘नेपाली रक्सी गुणस्तरीय बन्दै गएको छ भने यसमै बानी पर्दा नेपालको अर्थतन्त्रलाई समेत टेवा पुग्छ ।’

कोरोना महामारी आउनुपूर्वसम्म रक्सीको माग दशैंमा तेब्बर बढ्ने गरेको भए पनि यसपटक त्यस्तो नभएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्