०१ असार २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

उपेन्द्रसँग भिड्न कम्मर कसेका सीके राउत– के एजेन्डा लिएर जाँदैछन् चुनावी मैदानमा ?

असोज १७, २०७९
उपेन्द्रसँग भिड्न कम्मर कसेका सीके राउत– के एजेन्डा लिएर जाँदैछन् चुनावी मैदानमा ?

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत सप्तरी- २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

पहिलोपटक संसदीय राजनीतिमा भाग लिइरहेको उक्त पार्टीका अध्यक्ष राउतको प्रतिस्पर्धा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग हुनेछ ।

राउत मधेशमा धेरै लोकप्रिय नेताको रूपमा चिनिन्छन् । विगतमा स्वतन्त्र मधेश गठबन्धनको संयोजक बनेर मधेशलाई छुट्टै देश नै बनाउनु पर्छ भन्ने माग राखी उनले लामोसमय संघर्ष गरेका थिए ।

अमेरिकामा वैज्ञानिकको काम गरिरहेका उनी छुट्टै देश बनाउने मागसहित मधेशमा आएर संघर्षमा लागेका थिए ।

सोही क्रममा उनलाई राज्यद्रोहको मुद्दामा पटक–पटक गिरफ्तार गरी कारावासमा समेत राखिएको थियो ।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला राज्यसँग औपचारिक सम्झौता गरी देश विखण्डनको मुद्दाबाट उनी पछि हटेका थिए । त्यसपछि जनमत पार्टी बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान संविधानलाई आत्मसात गर्दै उनी पहिलोपटक संसदीय चुनावमा भाग लिँदैछन् ।

खास गरेर मधेशका युवाहरू तथा वैदेशिक रोजगारीमा रहेका प्रवासी मधेशीमा उनको बलियो पकड तथा प्रभाव छ ।

राउत लड्ने क्षेत्र जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेको क्षेत्र हो । २०७४ प्रतिनिधिसभा निर्वाचनमा यादव सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यादव यसअघि सुनसरी र मोरङबाट उम्मेदवार हुने गरेका थिए । दुवै जिल्ला अहिले १ नम्बर प्रदेशमा अवस्थित छन् ।

मधेश आन्दोलनबाट उदाएका नेता यादवले २०७४ सालको निर्वाचनमा मधेश प्रदेशकै सप्तरी जिल्ला रोजेका थिए ।

२०६४ सालदेखि हालसम्म भएका सबै निर्वाचनमा चुनाव जितेर सांसद बन्दै आएका यादवलाई यसपटक डा. राउतले चुनौती दिँदैछन् ।

राउतको जन्मस्थान सप्तरीको महादेवा हो । उनी आफ्नै जन्मस्थान भएको क्षेत्रमा उठिरहेका कारण उनले त्यसको पनि लाभ पाउने आशा गरेका छन् ।

'उपेन्द्रजीले आफ्नो क्षेत्र परिवर्तन गर्दै आउनुभएको छ तर मेरो त जन्मस्थान नै यही क्षेत्र हो,' उनले लोकान्तरसँग भने, 'मैले उपेन्द्रजीलाई चुनौती दिनुभन्दा पनि आफ्नो क्षेत्रका जनताले त्यहीँबाट उठ्न भनेकाले उठेको हुँ ।'

जसपा विगत १५ वर्ष देखि संघमा तथा ५ वर्षदेखि प्रदेशको सत्तामा छ । ५ वर्षदेखि जसपाले मधेश प्रदेशमा सरकारको नेतृत्व नै गरेको छ तर जनतालाई त्यसको केही लाभ हुन नसकेको तर्क गरेर राउत जनताको घरदैलोमा पुगेका छन् ।

'१५ वर्षदेखि जसपा सत्तामा छ, तर पनि त्यसले मधेशको जनतालाई केही पनि अनुभूति हुने गरी लाभ दिन सकेन,' राउतले थपे, 'त्यसैले जसपाको विकल्पमा जनमत पार्टी नै रहेको भनेर आमजनताले भनिरहेका छन् । जनमत पार्टी नै अबको विकल्प हो भनेर आमजनताले भनिरहेका छन् ।'

उपेन्द्र यादव सप्तरी- २ बाट जितेर गएपनि पछाडि परेको वञ्चित वर्गलाई होस् वा आम किसानदेखि अन्य वर्ग कसैलाई पनि कुनै लाभ नभएको उनको कथन छ ।

'सप्तरीकै कुरा गर्ने हो भने मधेश प्रदेशमै अन्य सबै जिल्लाभन्दा पिछडिएको जिल्लामा पर्छ,' उनले थपे, 'अहिलेसम्म सप्तरीको विभिन्न गाउँमा बाटो समेत बन्न सकेको छैन ।'

खास गरेर जनमत पार्टीको आफ्नै एजेन्डाका कारण पनि कम्तिमा १० सीट जित्ने राउतको जिकिर छ ।

'६० भन्दा बढी क्षेत्रमा पार्टीको उम्मेदवार हुनेछ, तर कम्तिमा पनि १० सीट हामीले जित्छौं,' राउतले भने, 'विभिन्न पार्टीहरू गठबन्धन बनाएर चुनाव लड्दैछन्, तर हाम्रो पार्टी एक्लै चुनावमा भाग लिएर पनि १० सीट जित्छ ।'

कुनै क्षेत्रमा स्थानीय आवश्यकताअनुसार तालमेल हुनसक्ने सम्भावना रहेको पनि उनले बताए ।

सुशासन, सेवा प्रवाह र स्वायत्तता प्रमुख एजेन्डा

सुशासन, सेवा प्रवाह र स्वायत्तता तीन प्रमुख एजेन्डा लिएर जनमत पार्टी जनताको बीचमा भोट माग्न जाने उनले खुलाए ।

सुशासनअन्तर्गत भ्रष्टाचार नियन्त्रण, तथा काममा ढिलासुस्ती नियन्त्रण आफ्नो पार्टीको प्रमुख एजेन्डा रहेको राउत बताउँछन् । 'भ्रष्टाचार नियन्त्रण तथा काममा ढिलासुस्ती नियन्त्रण गर्नका लागि हाम्रो पार्टीले त अभियान नै सञ्चालन गर्दै आएको छ,' राउतले भने, 'भ्रष्टाचारविरुद्ध हाम्रो पार्टी सत्तामा नहुँदै पनि जनकारवाही लगायतका अभियान सञ्चालन गर्दै आएको हो । उक्त अभियान चुनाव जितेपछि पनि जारी राख्छौं ।'

सेवा प्रवाह दोस्रो प्रमुख एजेन्डा रहेको उनले बताए ।

शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा सामाजिक न्यायसहितको सेवा प्रवाह गरी पाँच 'कम्पोनेन्ट'मा आफ्नो पार्टीले काम गर्ने उनले बताए ।

मधेश प्रदेश शिक्षामा सबैभन्दा पछाडि परेको हुनाले सर्बसुलभ र उन्नत शिक्षा प्रदान गर्ने एजेन्डा रहेको उनले बताए ।

स्वास्थ्य उपचार खास गरेर नि:शुल्क नै हुने उनको कथन छ । 'कुनै पनि बिरामीको उपचार नि:शुल्क हुने हाम्रो एजेन्डा हो । कसैलाई अप्रेसन गर्न ५ देखि १० लाख रुपैयाँ लाग्ने भयो भने त्यो रकम पनि सरकारले नै दिने व्यवस्था हामीले गर्नेछौं,' राउतले लोकान्तरसँग भने ।

हरेक घरमा कम्तिमा पनि एकजनालाई रोजगारी सुनिश्चित गर्ने जनमत पार्टीको एजेन्डा छ । औद्योगिक क्रान्ति गर्नुका साथै उन्नत कृषि प्रणालीको आधारमा घरघरमा रोजगारी प्रदान गर्ने आफ्नो एजेन्डा रहेको उनले सुनाए ।

ज्येष्ठ नागरिकसहित लक्षित समुदायलाई सरकारले सामाजिक सुरक्षाअन्तर्गत भत्ता दिने गरेको भए पनि किसानलाई पेन्सन दिएर आफ्नो पार्टीले किसानको सामाजिक सुरक्षा पनि सुनिश्चित गर्ने दाबी उनले गरे ।

किसानसहित अन्य नयाँ लक्षित वर्गको पहिचान गरी सामाजिक सुरक्षा प्रदान गर्ने लक्ष्य रहेको उनले सुनाए ।

त्यसैगरी सामाजिक न्यायअन्तर्गत पनि काम गरिने उनी बताउँछन् । 'मधेशमा केही निश्चित वर्गद्वारा सधैं केही वर्गलाई विभेद गर्नुका साथै थिचोमिचो गर्ने गरिन्छ । ती थिचोमिचोका विरुद्ध पनि हाम्रो पार्टीले सबै वर्गलाई सामाजिक न्यायको प्रत्याभूति गराउनेछ,' राउतले लोकान्तरसँग भने ।

तेस्रो प्रमुख एजेन्डा भने प्रादेशिक स्वायत्तता रहेको उनी बताउँछन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भए पनि प्रदेशलाई प्रादेशिक स्वायत्तता प्राप्त नभएको उनको विश्लेषण छ । 'प्रदेशलाई प्रदान गरिनुपर्ने कतिपय अधिकारहरू संघबाट हालसम्म प्रदान गरिएको छैन । प्रदेश सरकारसँग आफ्नो प्रहरी, प्रशासनका साथसाथै संविधानले नै 'ग्यारेन्टी' गरिसकेको स्रोत तथा साधन समेत प्राप्त नहुँदा प्रदेश सरकारले अपेक्षित काम गर्न सकेको छैन,' उनले थपे, 'हामीले जितेपछि प्रदेशलाई प्रादेशिक स्वायत्तता प्रदान गराउने छौं ।'

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति जनमत पार्टीको एजेन्डा रहेको उनी बताउँछन् ।

'त्यसबाहेक कुनै पनि विषयमा ५ लाखभन्दा बढी जनताले हस्ताक्षर गरेर माग गरेपछि त्यस विषयमा जनमत संग्रह गरिनुपर्ने हाम्रो पार्टीको एजेन्डा हो,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्