२९ असार २०८३, सोमबार

बालकोटमा ओली–महन्थ मन्थन : एमालेले मधेशमा ६ सिट दिए तालमेल गर्न सकिने लोसपाको प्रस्ताव

बालकोटमा ओली–महन्थ मन्थन : एमालेले मधेशमा ६ सिट दिए तालमेल गर्न सकिने लोसपाको प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीे (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा भेटवार्ता भएको छ । 

ओलीलाई भेट्न सोमवार दिउँसो बालकोट पुगेका ठाकुरले प्रतिनिधि सभातर्फ मधेश प्रदेशमा ६ सिट दिए तालमेल गरेर जान सकिने प्रस्ताव गरेका छन् । 

यसअघि लोसपाले मधेश प्रदेशका ८ जिल्लाबाट प्रतिनिधि सभाका रहेको ३२ सिटमध्ये आधामा दाबी गरेको थियो । एमालेले त्यसमा फाइदा नदेखेपछि तालमेल धरापमा परेको थियो । 

एमाले र लोसपाबीचको चुनावी तालमेलको कुरा अगाडि बढ्न नसकेको बेला ठाकुर बालकोट पुगेका हुन् । 

एमालेले लोसपासँग चुनावी तालमेल गर्दा कुनै फाइदा नहुने देखेपछि संवाद अन्त्य गरेको थियो । मधेशमा एमाले र लोसपाको मत समेत जोड्दा पनि गठबन्धन भन्दा पछि नै हुने देखिएपछि एमालेले लोसपासँग तालमेलमा अनिच्छा देखाएको छ । 

तर, सोमवार भएको भेटमा प्रतिनिधि सभातर्फ मधेश प्रदेशमा ६ सिट र प्रदेश सभामा १० सिटमा तालमेल गर्ने प्रस्ताव ठाकुरले गरेको एमाले उच्च स्रोतले बताएको छ । 

लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, एकवाल मियाँ र लक्ष्मणलाल कर्णका लागि प्रतिनिधि सभाका सिट दिए तालमेल हुने लोसपाको प्रस्ताव रहेको एमाले स्रोतले बतायो । 

मधेश प्रदेशमा लोसपाको १० सिट रहेको र सोही सिट आगामी निर्वाचनको लागि पनि दिए मान्य हुने ठाकुरले एमाले अध्यक्ष ओलीसँग प्रस्ताव गरेका छन् । 

एमलो र जनता समाजवादी पार्टी (जसपा)को तालमेलको छलफल अघि बढेपछि लोसपाका नेताहरू झस्किएका थिए । 

लोसपासँगभन्दा जसपासँग नै तालमेल गर्दा चुनावी फाइदा हुने भएपछि एमालेले लोसपालाई प्राथमिकतामा राखेको छैन । 

लोसपाका नेताहरू भने एमालेले जसपालाई लिएर चुनावी तालमेल नगर्ने दाबी गर्छन् । 

ठाकुर र ओली बीचको सोमबारको संवाद पनि निष्कर्षमा पुग्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्