०५ साउन २०८३, मंगलबार

२९ जना समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम, आयाेगले दललाई गरायाे जानकारी

२९ जना समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम, आयाेगले दललाई गरायाे जानकारी

प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ गरी कुल २९ जनाले समानुपातिक उम्मेवारको बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनअन्तर्गत समानुपातिकतर्फ उम्मेदवार बनेका २९ जनाले आफ्नो उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । 

आयोग स्रोतका अनुसार प्रतिनिधि सभातर्फ ९ र प्रदेश सभातर्फ २० जनाले उम्मेदवारी फिर्ताका लागि सोमवार आयोगमा निवेदन दिएका थिए । उनीहरूले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको स्रोतले जानकारी दिएको छ । 

उम्मेदवारी फिर्ता गर्न चाहनेमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन् । त्यस्तै, प्रदेश सभातर्फ प्रदेश १ का ६ जना, मधेशका २, बागमतीका १०, गण्डकी र लुम्बिनीका १/१ जनाले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका छन् । 

आयोगले आइतवारसम्म समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउन दलहरूलाई समय दिएको थियो । उम्मेदवारको बन्दसूचीमा नाम रहेकाले उम्मेदवारी फिर्ता लिन चाहेमा सोमवार मध्यान्ह १२ बजेसम्मको समय दिइएको थियो । उक्त समयावधिभित्र २९ जनाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् । 

अब रिक्त रहेको स्थानमा अन्य उम्मेदवारको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्र पठाएको छ । आयोगले निवेदन दिएका २९ जना उम्मेदवारबारे दलहरूलाई जानकारी गराएको हो । 

salt training

कमेन्ट गर्नुहोस्