
धुलिखेल नगरपालिकाले शहस्राब्दी दीगो विकास लक्ष्यका पूरा भएका ४ लक्ष्यको प्रतिवेदन संयुक्त राष्ट्रसंघमा पेश गरेको छ ।
नगरले दीगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरीबी निवारण र सुरक्षित खानेपानी गरी ४ लक्ष्य पूरा गरेको प्रतिवेदन गत अप्रिलमा सार्वजनिक गरेको थियो ।
नगर प्रमुख अशोक ब्याञ्जूले संघको दीगो शहरी विकास विभागका प्रमुख कर्ट गारीगानलाई दीगो विकास लक्ष्य अन्तर्गत सन् २०२२ को प्रतिवेदन सोमवार थाइल्याण्डस्थित कार्यालयमा हस्तान्तरण गरेका हुन् ।
‘दीगो विकास लक्ष्यअन्तर्गत सन् २०२२ को प्रतिवेदन संघलाई बुझाए, यसलाई गौरवको विषय मान्नुपर्छ,’ ब्याञ्जूले भने । उनले जुलाई पहिलो हप्ता संघको न्यूयोर्कस्थित कार्यालयमा १६३ देशका प्रतिनिधि सहभागी दीगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा सम्बोधन गर्दै धुलिखेलले दीगो विकास लक्ष्यमध्ये हासिल गरेका ४ लक्ष्यबारे जानकारी गराएका थिए ।
सार्वजनिक गरिएको प्रतिवेदनमा दीगो विकास लक्ष्यका ४ सूचक पूरा गरेको जनाउँदै ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको छ । निर्वाचित जनप्रतिनिधि आएपछि नगरको गरीबीको अवस्था १४ बाट ४ प्रतिशतमा झरेको, नगरले ८४ प्रतिशत स्थानीयको घरमा खानेपानी (एक घर एक धारा) पुर्याएको, गुणस्तरीय शिक्षाका लागि नगरले स्नातक तहसम्म अध्ययन गर्ने स्थानीयवासीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुका साथै काभ्रेपलाञ्चोकको अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको र नेपालमै पहिलो पटक ‘स्वस्थ शहर’ कार्यक्रम गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
नगरले युनिसेफको सहयोगमा गरीबी निवारण, स्वस्थ शहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीका लागि भएका प्रयासको स्वेच्छिक स्थानीय समीक्षा पश्चात प्रतिवेदन सार्वजनिक गरिएको थियो । ब्याञ्जूले भने, ‘अबको केही महिनामा ९९ प्रतिशत जनताकोे घरमा स्वच्छ खानेपानी पुग्नेछ भने केही वर्षभित्र औसत गरीबीको संख्या शून्यमा पुर्याउने लक्ष्य नगरले लिएको छ ।’
शिक्षामा गुणस्तरीयता कायम गर्न नगरले सामुदायिक विद्यालयमा ‘एमजीएमल’ विधि, अंग्रेजी माध्यम तथा शिक्षकलाई प्रविधियुक्त तालिम, भौतिक पूर्वाधारको निर्माण लगायत कार्य गरेको छ । दीगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो, जसले सन् २०३० सम्ममा सबै प्रकारका गरीबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ ।
दीगो विकासका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्य दीगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो, जुन संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्र सम्मिलित सेप्टेम्बेर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर सन् २०१६ देखि लागू गरेको थियो ।
विश्वभरका राष्ट्रिय सरकार तथा लाखौं नागरिकलाई एउटै थलोमा ल्याई यी महत्त्वाकांक्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दीगो विकास लक्ष्य तय गरिएका हुन् । नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले ५ महिनाअघि बेलायतको संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२६)मा समेत चर्चा पाएको पर्यटकीय उक्त नगरले स्वस्थ शहरका लागि संघीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच ७ प्रतिबद्धता समेत जनाएको छ ।
सबै स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्य सम्बन्धी अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने उल्लेख छ ।
खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी ५ वर्षमा स्थानीय सबैका घरमा प्रयोग फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । ‘धुलिखेलको एउटा काम विश्वमा चर्चा हुनु गौरवको विषय बनेको छ,’ ब्याञ्जूले भने ।
उनका अनुसार अब स्वस्थ शहर अभियानका सर्वदलीय अपनत्व बढाइनेछ ।
नगरद्वारा भविष्यमा समेत जिवाश्म इन्धन अप्रसारसन्धी अभियान कार्यान्वयनको पहिलो प्राथमिकतामा राखिने जनाइएको छ । ‘स्वच्छ र स्वस्थ’ शहरको अवधारणा पूरा गर्न नगरले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली शहर’ कार्यक्रमको योजना बनाएको छ ।
नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ शहरमध्ये पाँचौं नम्बर र एसियाको पहिलो शहर बनेको घोषणा गरिएको थियो ।
धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसारसन्धी’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय शहरको रूपमा विकास गर्ने उद्देश्यले दीगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ ।