
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बडादशैंका अवसरमा मंगलवार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन् ।
नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको पूजाअर्चनाका क्रममा प्रहरी महानिरीक्षक सिंहले बलि पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाए ।
प्रहरी महानिरीक्षक सिंहले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरेका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।
उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा २ वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिह्न अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिह्न अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्त्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रूपमा निशान झण्डालाई लिइन्छ ।

संगठनको कार्यसम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रहिआएको छ । नेपाल प्रहरीले विक्रम संवत् २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडादशैं र चैतेदशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।
देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप मंगलवारै सम्पूर्ण प्रहरी इकाईहरूमा समेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।