१८ असार २०८३, बिहीबार

कपिलवस्तु १ का कांग्रेस कार्यकताहरूको स्पष्टीकरण : अन्य दललाई सघाउन सक्दैनौँ

कपिलवस्तु १ का कांग्रेस कार्यकताहरूको स्पष्टीकरण : अन्य दललाई सघाउन सक्दैनौँ

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा अन्य दललाई टिकट नदिन नेतृत्वलाई खबरदारी गरेको छ । केन्द्रीय नेतृत्व गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेको बेला कांग्रेस कार्यकर्ताले प्रतिनिधि सभातर्फ कपिलवस्तु १ नछाड्न खबरदारी गरेका हुन् । 

मंगलवार तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका क्षेत्रीय समितिका नेताहरूले अन्य दललाई टिकट दिए पार्टीभित्र दुर्घटना हुनसक्ने चेतावनी पनि दिएका छन् । कांग्रेस प्रदेश सभा १(१)का सभापति दुर्गा केसीले अन्य दललाई टिकट दिए जिताउन नसकिने प्रष्ट पारे । उनले गठबन्धनमा रहेका अन्य दलभन्दा कांग्रेसको मत धेरै रहेको प्रष्ट पार्दै कांग्रेसबाहेकका दलका उम्मेदवारलाई जिताउन नसकिने बताएका हुन् । 

गठबन्धनबाट उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रले टिकट पाउने चर्चा छ । अन्तिम निर्णय हुन बाँकी रहेपनि गठबन्धन दलका शीर्ष नेताहरूबीच कपिलवस्तु १ माओवादी केन्द्रलाई दिने मोटामोटी सहमति भएको स्रोतले बताएको छ । 

पत्रकार सम्मेलनमा सभापति केसीले भने, ‘कांग्रेसको २८ हजार मत दिएर ९ हजार मत भएको माओवादीलाई जिताउन गाह्रो पर्छ । टिकट वितरणमा ध्यान नपुर्‍याउने हो भने गठबन्धनले जित्नसक्ने आधार गुम्छ ।’

पत्रकार सम्मेलनमा प्रतिनिधि सभा १ का कांग्रेस सभापति मन्नान खाँले कांग्रेसले टिकट पाउनुपर्ने माग कार्यकर्ताले राखिरहेको जानकारी दिए । पार्टीभित्रका कार्यकर्ताको कांग्रेसको भागमा टिकट नपर्ने हो भने विद्रोहको चेतावनी दिइरहेको उनले बताए । उनले अघिल्लो चुनाव जितेर माओवादीले केही काम गर्न नसकेकाले पनि जिताउन गाह्रो पर्ने बताए । कार्यकर्ताको चाहनाविपरीत गठबन्धनबाट कांग्रेसबाहेकका दललाई टिकट दिए चुनावी नतिजा गलत आउने उनले चेतावनी दिए । 

सम्मेलनमा उपस्थित भएका अधिकांश नेताहरूले कांग्रेसले टिकट पाउनुपर्ने माग गरेका थिए । उनीहरूले उक्त क्षेत्र कांग्रेसले लिनुपर्ने भन्दै त्यसमा पनि उम्मेदवार दीपकुमार उपाध्याय नै हुनुपर्नेमा जोड दिए । कांग्रेस कार्यकर्ताहरूले दीपकुमार उपाध्यायबाहेकलाई सघाउन नसक्ने भनेर बारम्बार भनिरहेको बताए । 

पत्रकार सम्मेलनमा उपस्थित नेताहरूले आफूहरूको मागविपरीत केन्द्रले जबरजस्ती अन्य दलकालाई उम्मेदवार बनाए कार्यकर्ताहरूलाई सम्हाल्न नसक्ने प्रष्ट पारे । 

उक्त पत्रकार सम्मेलनमा कपिलवस्तु नगरपालिकाका पार्टी सभापति खुर्सेद अहमद खाँ, शुद्धोधन गाउँपालिका सभापति विशम्भर कुर्मीलगायतका नेताहरू उपस्थित थिए । 

गत स्थानीय तहको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट कांग्रेस एक्लैले २८ हजार २७१ मत पाएको थियो । जनता समाजवादी पार्टी (जसपा)ले १३ हजार ५१० मत पाएको थियो भने, नेकपा माओवादी केन्द्रले ९ हजार ३३८ मत पाएको थियो । नेकपा एकीकृत समाजवादीले भने ३ हजार ७२२ मात्र प्राप्त गरेको थियो । 

उक्त निर्वाचन क्षेत्रमा एमालेले २६ हजार ८२३ मत पाएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ३ हजार ४२४ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४८० मत पाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्