१२ असार २०८३, शुक्रबार

चितवन मेडिकल कलेजमा तोडफोड, तोडफोडमा संलग्न १० जना प्रहरी नियन्त्रणमा

चितवन मेडिकल कलेजमा तोडफोड, तोडफोडमा संलग्न १० जना प्रहरी नियन्त्रणमा

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित मृतकका आफन्तहरूले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् ।

तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट आईसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भीडले आईसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए । 

‘धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा तोडफोड हुनु निन्दनीय छ, तोडफोडबाट लाखौँको क्षति भएको छ, चिकित्सक तथा नर्सहरूमाथि समेत हातपात भएको छ’, देवकोटाले भने, ‘संवेदनशील क्षेत्रमा यस्तो हर्कत हुनुमा सरकार गम्भीर हुनुपर्छ ।’ उनले अस्पतालले भर्खरको युवालाई बचाउन भनेर प्रयास गरेको बताए । 

अहिले अस्पतालमा धेरैको संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुँवरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । उनलाई प्याङ्क्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरूले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताइएको छ । घटनाबारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका हुन् । 

तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिरामीको मृत्युको सम्बन्धमा अस्पताल प्रशासनसँग वार्ता भइरहेको बेला अराजक समूहले तोडफोड गरेको जनाएको छ । तोडफोडमा संलग्नहरू गाडी रिजर्भ गरेर आएको प्रहरीले जनाएको छ ।

सो क्रममा प्रहरीसँग समेत उनीहरूको घम्साघम्सी चलेको थियो । ‘सो क्रममा प्रहरी उपस्थित नभएको भए झनै ठूलो क्षति हुन सक्ने अवस्था थियो, समयमै प्रहरी पुगेर ठूलो क्षति हुनबाट रोकेको थियो’, प्रवक्ता विजयराज पण्डितले भने । रासस

salt training

कमेन्ट गर्नुहोस्