
शाहरुख खान र अनुष्का शर्माको बहुप्रतीक्षित फिल्म जब ह्यारी मेट सेजल आज रिलिज भएको छ । इम्तियाज अलीको यो फिल्मले हिटको खोजीमा रहेको बलिउडलाई राहत दिने अपेक्षा गरिएको छ ।

फिल्म दुईवटा पात्रको वरिपरि घुम्छ – टुरिस्ट गाइड ह्यारी (शाहरुख खान) र पर्यटक सेजल (अनुष्का शर्मा) ।
सेजल आम्स्टर्ड्याममा हराएको इन्गेजमेन्ट रिंग खोज्न आउँछिन् । उनले त्यो औंठी फेला नपारुन्जेल आम्स्टर्ड्याम नछोड्ने निर्णय गर्छिन् र ह्यारी चाहिँ मन नलागी नलागी उनीसँगै रहन बाध्य हुन्छन् ।
अनुष्काको गुजराती बोलीको ट्रेलर रिलिज भएपछि नै चर्चा चलेको थियो र धेरैजनाले ठूलो पर्दामा त्यो वास्तविक रूपमा आउँछ कि आउँदैन भनी शंका गरेका थिए । तर उनले फिल्ममा दर्शकलाई मज्जाले हँसाएकी छन् र अभिनयकला पनि देखाएकी छन् ।
अपेक्षाकृत रूपमा शाहरुखले स्क्रीनमा देखिनेबित्तिकै महिलाहरू प्रशंसा बटुल्ने गरी अभिनय गरेका छन् । उनलाई रोमान्सका राजा त्यत्तिकै भनिएको होइन ।
प्रितमले दामी संगीत दिएका छन् र इर्शाद कमिलको कवितात्मक पंक्तिहरूलाई उडानको अवसर प्रदान गरेका छन् । इम्तियाज अलीको फिल्ममा सुफीपना हुन्छ नै । त्यसबाहेक पनि उनी समकालीन जटिल प्रेमका लागि प्रसिद्ध छन् ।
उनको यही विशेषता फिल्मको कमजोर कडी हो । प्रेमकथा सुस्त गतिमा अघि बढ्दा अनि जेलिँदै जाँदा दर्शकहरू बोर मान्न थाल्छन् । एउटा विन्दुमा पुगेपछि प्रमुख कलाकारहरू औंठीको खोजमा यताउता भौंतारिरहेको देखिन्छ र दर्शक पनि उनीहरूसितै रनभुल्ल पर्छन् । त्यसै पनि इम्तियाज अलीको फिल्म सर्वसाधारणका लागि बन्ने गर्दैनन् ।
'जब ह्यारी मेट सेजल' प्राग, बर्लिन र आम्टर्ड्यामका सुन्दर लोकेसनहरूमा शूट गरिएको छ । दर्शक यस फिल्मको कथामा अलमल्ल परेपनि रमणीय लोकेसन देखेर चाहिँ पक्कै रमाउँछन् । फिल्मका विभिन्न आरोहअवरोह छन् र तपाईं पहिलो हाफमा त आनन्दै लिनुहुन्छ, भलै दोस्रो हाफमा बोर हुनुहोला ।
शाहरुख र अनुष्काको फ्यान हुनुुहुन्छ र सुफी हृदयको हुनुहन्छ भने यो फिल्म हेर्नुहोला, नभए चाहिँ तपाईं निराश हुनुहुनेछ ।
फिल्म : जब ह्यारी मेट सेजल
कलाकार : शाहरुख खान, अनुष्का शर्मा
निर्देशक : इम्तिायज अली
विधा : रोमान्स
रेटिङ : २.५/५
खलीज टाइम्सबाट