
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा निर्णायक वार्तामा जुटेको छ ।
बैठकले कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिनेछ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिमरूप दिन निर्णायक वार्ता भइरहेको कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ ।
त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब दुई दिनमात्र बाँकी रहेकाले पनि आजै बाँडफाँट टुङ्ग्याउन लागिएको उनले बताए ।
गठबन्धनको बैठक जारी रहेकाले आज बस्ने भनिएको सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अझै शुरू हुन सकेको छैन ।