
गत बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीका सम्पूर्ण ग्रामीण सडक अवरुद्ध भएपछि दशैंमा टीका लगाउन र आशिर्वाद लिन जाने/आउनेको बिजोग भएको छ ।
छाता र प्लाष्टिक ओढेर नजिकका आफन्तसँग मात्र टीका लगाएर चित्त बुझाउन बाध्य हुनुपरेको सर्वसाधारणको भनाइ छ ।
ग्रामीण सडक मात्रै होइन, राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडकलगायत म्याग्दी जोड्ने सबै सडक अवरुद्ध छन् । ४ दिनदेखिको अविरल वर्षाले दशैंका टीका लगाउन र आशिर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।
यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदल, छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन् ।
वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने म्याग्दीका बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत १ दर्जन बढी सडक बाढी र पहिरोका कारण अवरुद्ध भएका सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय स्थानमा सडक भासिएको छ ।