
नेपालीको महान् पर्व दशैंमा ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुम्न गएका १ जनाको मृत्यु भएको र अर्को १ महिला सम्पर्कविहीन भएकी छन् ।
सर्लाहीको लालबन्दीका २६ वर्षीय वुद्ध तामाङअर्थात् दयासागर योन्जनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए ।
मेमे पोखरी (४ हजार ८०० मिटर) घुम्न गएका ५ जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र निजकी पत्नी लमजुङको बेंसीशहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन रहेको उनले जानकारी दिए । उनीहरूसहित ५ जना घुम्न गएका थिए ।
बाँकी ३ जना यतिबेला भेडीगोठमा बसिरहेका र उनीहरूको मौसममा आएको खराबीका कारण उद्धारमा कठिन भइरहेको प्रहरी नायब उपरीक्षक श्रीमलको भनाइ थियो ।
सम्पर्कविहीन भएकी सर्मिलाको खोजी गर्न प्रहरीको टोली गए पनि सो स्थानसम्म पुग्न सकेको छैन ।
शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करीब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेका उनीहरूले प्रहरीलाई जानकारी गराएका थिए । असोज १६ गते घुम्न गएका उनीहरूलाई त्यहाँ पुग्न बेंसीशहरबाट ३ दिन लाग्छ । बास बस्नका लागि सल्लाहबमोजिम ३ जना अघिअघि हिँडेका र पछिपछि पति र पत्नी आएको प्रहरीले जनाएको छ ।