
सत्ता गठबन्धनबाट माओवादीको भागमा परेका राजधानीका ४ वटा क्षेत्रमा माओवादीले महिला उम्मेदवारलाई अगाडि सार्ने भएको छ ।
सत्ता गठबन्धनबीच शुक्रवार भएको भागबण्डामा काठमाडौंका क्षेत्र नम्बर २, ७ र ९ माओवादीको भागमा परेको छ ।
काठमाडौं– २ मा पूर्व सभामुख ओनसरी घर्तीलाई चुनाव लड्न प्रस्ताव गरिएको माओवादी स्रोतले बतायो । तर, ओनसरीले भने काठमाडौं– २ बाट चुनाव नलड्ने उनीनिकट एक नेताले जानकारी दिए ।
२०६४ सालको संविधानसभा चुनावमा यो क्षेत्रबाट माओवादीका झक्कु सुवेदी विजयी भएका थिए ।
काठमाडौं– ७ मा माओवादीको चिह्नबाट नेपाल समाजवादी पार्टीकी नेत्री मानुषी यमी उठ्ने भएकी छिन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं– ७ बाट हिसिला यमी विजयी भएकी थिइन् ।
माओवादीसँग भएको सहमतिअनुसार मानुषीले काठमाडौं– ७ बाट टिकट पाउने पक्का भएको हो । २०७० र २०७४ सालको चुनावमा भने यो क्षेत्रबाट एमालेका रामवीर मानन्धर विजयी भएका थिए ।
काठमाडौं– ९ बाट कल्पना धमला उम्मेदवार बन्ने भएकी छिन् । २०६४ सालको चुनावमा तत्कालीन धादिङ २ बाट विजयी भएकी धमला बाबुराम भट्टराई प्रधानमन्त्री रहेको समयमा विज्ञान प्रविधि मन्त्री बनेकी थिइन् ।
काठमाडौं उपत्यकामा माओवादीले पाएको अर्को निर्वाचन क्षेत्र ललितपुर– ३ मा माओवादीकी उपमहासचिव पम्फा भुसाल उठ्दैछिन् ।
ऊर्जामन्त्री समेत रहेकी भुसाल २०७४ सालको चुनावमा पनि प्रत्यक्षमै लडेकी थिइन् ।
काठमाडौंको कुनै क्षेत्रबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समेत चुनाव लड्ने चर्चा छ ।
केही समयअघि काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंका मेयर बालेन साहभन्दा चामत्कारिक व्यक्तिलाई टिकट दिने बताएका थिए ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि आइतवार उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।