
उत्तर पश्चिमी किनाराको शहर जेनिनमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा परी दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका प्यालेस्टिनी चिकित्सक तथा प्रत्यक्षदर्शीले बताएका छन् ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायली सैनिकले घाँटीमा गोली हानेपछि महमुद अल–सौस नाम गरेका एक व्यक्तिको मृत्यु भएको थियो भने अर्का एक व्यक्तिको टाउकोमा गोली लागेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।
प्यालेस्टिनी प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाको एक फौजले शरणार्थी शिविरमा आक्रमण गरेको र इजरायलविरुद्ध आक्रमणमा संलग्न भएको आरोपमा इजरायली सेनाले प्यालेस्टिनीको घरमा छापा मारेको थियो ।
त्यसपछि इजरायली सैनिक र प्यालेस्टाइनी बन्दुकधारीबीच भीषण झडप भएको थियो । इजरायली सेनाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै प्यालेस्टाइनी इस्लामिक जिहाद आन्दोलनका एक जना प्यालेस्टिनी सदस्यलाई पक्राउ गर्न इजरायली सेना शरणार्थी शिविरमा प्रवेश गर्दा बन्दुकधारीले ती सैनिकमाथि गोली चलाएको बताउनुभएको छ ।
जेनिनका गभर्नर कमाल अबु रोबले शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणको निन्दा गर्दै सिन्ह्वासँग भने, “इजरायली सेनाले हरेक दिन जानाजानी प्यालेस्टिनीहरूको घरमा आक्रमण गर्ने गरेको छ ।”
‘प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)’ का प्रवक्ता हजेम कासिमले एक विज्ञप्तिमार्फत भन्नुभएको छ, “इजरायलले जेनिनमा सशस्त्र प्रतिरोधलाई पूर्ण अन्त्य गर्ने प्रयास गरिरहेको छ, तर यो सफल हुनेछैन । इजरायली सेनाले प्यालेस्टाइनी लडाकू र अधिकारकर्मीविरुद्ध सैन्य कारबाही र कारबाही तीव्र पारेपछि गत मार्चदेखि नै पश्चिमी किनारामा तनाव बढ्दै गएको छ ।”
यस बर्षको जनवरीपछि पश्चिम किनारा र पूर्वी जेरुसेलममा महिला र बालबालिकासहित १११ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।