
रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेका तर्फबाट २ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट खिमलाल भट्टराई र वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीको टिकट लगेर घिमिरेले ३ बजेर ५० मिनेट जाँदा उम्मेदवारी दर्ता गराएका थिए । भट्टराईले भने ४ बजेर ४५ मिनेट जाँदा उम्मेदवारी दिएका छन् ।

घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर हुन् भने भट्टराई राष्ट्रिय सभामा एमाले संसदीय दलका प्रमुख सचेतक रहेका थिए ।
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सिधा आदेशमा उम्मेदवारी दर्ता गराएको फेसबूकमा उल्लेख गरेका छन् ।
'पार्टी अध्यक्ष आदरणीय कमरेड केपी शर्मा ओलीज्यूको सीधा आदेश, मेरो दिवंगत पिताजी, आमाको आशीर्वाद, पार्टी कार्यकर्ताको उत्कट माग, यहाँका जनता आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूको अगाध स्नेह र मायालाई शीरमा राखेर मैले रुपन्देही क्षेत्र ने ५ बाट संघीय सांसद पदमा उम्मेदवारी दिएको छु । रुपन्देही क्षेत्र नं ५ अर्थात् लुम्बिनी क्षेत्रको कायाकल्प मेरो संकल्प,' उनले फेसबूकमा लेखेका छन् ।

दुवैले आफू एमालेको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले तय भएको उम्मेदवारी रद्द गरिएको पत्र पठाएका छन् ।
भुलवश वासुदेव घिमिरेको नाममा पत्र पठाइएको भन्दै ओलीले खिमलाल भट्टराई आधिकारिक उम्मेदवार भएको उल्लेख गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत चिन्तामणि शर्माले उम्मेदवारको दर्ता ढड्डामा घिमिरे र भट्टराईको दुवैजनाको नाम चढेको बताए ।
तर, उम्मेदवारको नाम सच्याएको पत्र आएकाले अब भट्टराई नै आधिकारिक उम्मेदवार रहने उनले उल्लेख गरेका छन् ।
‘पहिले दर्ता गरेकोलाई क्यान्सिल गरी भट्टराईको आधिकारिक उम्मेदवारीका लागि ५ बजेभित्र हामीलाई पत्र आएकाले अब एमालेको आधिकारिक उम्मेदवार भट्टराई नै हुनुहुन्छ,’ शर्माले भने ।