काठमाडौं, २१ पुस — सरकारले गरीब निमुखाको निःशुल्क उपचार गर्ने घोषणा गरेपनि राजधानी काठमाडौं उपत्यकामा परिवारका सदस्यको उपचारका लागि याचना गरेर बस्नेहरूको कमी छैन । मुटु, मृगौला जस्ता रोगको उपचारको लागि सहयोग माग्दै महिनौं सकडमा याचना गर्नेहरू कति छन् कति ।
काठमाडौंको रत्नपार्कमा आमाको उपचारका लागि त्यस्तै सहयोग माग्नेमध्ये एक हुन् आनन्द पासवन । आनन्दको पीडा अरूको भन्दा अलि फरक र गहिरो छ ।
बाईस वर्षपहिले भारतको समस्तीपुरमा जन्मेका आनन्द २१ वर्षदेखि नेपालमा बस्दै आएका छन् ।
जन्मजात दुवै हातको दुईवटै पन्जा नभएका उनले सडकमा चित्र कोरेर जीवनयापन गरिरहेका छन् । आमा चमेलीदेवी पासवानको मृगौलामा समस्या आएपछि उनले आमाको उपचारको सहयोगका लागि रत्नपार्कमा ब्यानर टासेर उपचार खर्च जुटाइरहेका छन् ।
‘ऋण खोजेर आमाको अप्रेसन भयो,’ रत्नपार्कको सडकमा चित्र कोरिरहेका उनले बिहीवार लोकान्तरसँग भने ‘उपचारको ऋण तिर्न चित्र कोरेर बसिरहेको छु ।’
बुवाको निधन भएका कारण आमाको उपचार खर्च जुटाउने जिम्मा आफ्नो टाउकोमा आएको उनले बताए ।
दुवै हातका पञ्जा नभएपनि ठुटे हातले उनले चित्र कोरेको हेर्न रत्नपार्कमा भीड लाग्ने गरेको छ । ‘दिनमा चार पाँचवटा चित्र बनाउँछु, तर आज जाडो भएर दुईवटा मात्र बनाएँ,’ उनले भने ‘एउटा चित्रको २ सय ४० रुपैयाँ लिने गरेको छु ।’
उनले आमाको उपचारका लागि चित्र कोरेरै अहिलेसम्म ९७ हजार जम्मा गरिसकेको बताए । कतिपयले भने चित्र नकिनी सहयोग गर्ने गरेका छन् ।
उपचारका लागि सहयोग गर्नेहरूले ९६१९७९०८५३ मा सम्पर्क गर्न सक्ने पासवानले बताए ।