
कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो । वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौँ र घरमै बसौँ भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे । घर सफा गर्न थाल्दा सर्प निस्कियो ।
“घरभिर झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ गर्दै थियो”, श्यामले भने, “श्रीमतीको हातैमा सर्प आयो, धन्न टोकेन, घरभित्र जम्मा भएको घाँसमा बसेको रहेछ ।”
घरभित्रै सर्प निस्किएपछि उनीहरुले राम्ररी सरसफाइ गर्न सकेका छैनन् । बस्ने ठाउँ नभएकाले घर सफा नगरी नहुने छ । “असोज १ गते आएको बाढीले पनि विस्थापित बनायो, दसैँको चार दिनअघि घर आएका थियौँ, फेरि १९ गते आएको बाढीले पुनः घर छोडेर भाग्यौँ, घर छोडेको महिना नै पुग्नथाल्यो”, श्यामले भने, “जीवन अस्तव्यस्त भएको छ । बच्चाको एक महिनादेखि पढाइ प्रभावित भएको छ । त्रासैत्रासमा घर सफा गर्न थालेका छौँ । अब जस्तो भए पनि घरमै बस्छौँ ।”
टीकापुर–८ का धना साउँदको घर सरसफाइ गर्ने बेला उनको घरमा पनि सर्प देखियो । “घर वरिपरि पानी बगिरहेको छ । घरभित्र पनि चार फिटसम्म पानी पुगेको थियो । घरभित्र झारपात, हिलो र बालुवा मात्र छ”, धनाले भनिन्, “सारा फोहोर घरभित्र र बस्तीमा आएको छ । जताततै गन्हाएको छ । सर्पमात्र होइन अन्य किरा पनि देखिन थालेका छन् ।”
प्रभावित क्षेत्रमा बाढीले दुर्गन्ध बढाउनुका साथै सर्प किरा बस्ने बासस्थान पानीले भरिएकाले उनीहरु बासस्थान खोज्न घरभित्र पसेकाले जोखिम बढेको छ ।
बाढी प्रभावित क्षेत्रमा जोखिमसँगै विभिन्न स्वास्थ्य समस्या हुनसक्ने भएकाले स्वास्थ्य संस्थाले सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्नुपर्ने बाढी पीडितको माग छ । भजनीकी धनादेवी विकले बाढीले विस्थापित भएकाका लागि उपचार सेवा स्थानीयस्तरमै दिनुपर्ने माग गरिन् ।
लगातारको वर्षाले धेरै ठाउँ जलमग्न भएका छन् । घरभित्र पानी पसेको छ भने भर्खर पानी घट्दै गइरहेको छ । जताततै पानी हुँदा सर्प सुरक्षित ठाउको खोजीमा घरभित्र पस्ने भएकाले सर्पदंशको त्रास बढी हुने गर्दछ । यस्तो बेला नागरिक बढी चनाखो हुनुपर्ने टीकापुर अस्पतालका फ्यामीली फिजिसियन डा दिलीप शाहले बताए ।
सर्पदंशबाट बच्न राति कतै जानुपरे टर्च लाइट बालेर हिँड्न, जुत्ता लगाउँदा बुट लगाउने, सर्पलाई नजिस्काउने, टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा उपचारमा जान उनले सल्लाह दिए।